नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मू आज (५ नोभेम्बर) नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी) को सहयोगमा भारत सरकारको संस्कृति मन्त्रालयद्वारा आयोजित प्रथम एशियाई बौद्ध शिखर सम्मेलनमा सहभागी भइन्। यस अवसरमा आफ्नो सम्बोधनमा राष्ट्रपति मुर्मूले भनिन्, ‘भारत धर्मको पवित्र भूमि हो। प्रत्येक युगमा भारतमा महान गुरु, रहस्यवादी, द्रष्टा र साधकहरू भएका छन्, जसले मानवतालाई आफ्नै भित्रको शान्ति र बाह्य सद्भाव खोज्ने मार्ग देखाएका छन्। यी पथप्रदर्शकहरूमध्ये बुद्धको अद्वितीय स्थान छ। बोधगयामा बोधि वृक्ष मुनि सिद्धार्थ गौतमले ज्ञान प्राप्त गर्नु इतिहासको अनुपम घटना हो। उनले न केवल मानव मनको कार्यप्रणालीको गहिरो अन्तर्दृष्टि प्राप्त गरे, तर “बहुजन सुखाय बहुजन हिताय च”- जनकल्याणका लागि- भन्ने भावना अनुरूप यसलाई सबैसँग बाँड्ने निर्णय गरे।‘

राष्ट्रपतिले भनिन्, ‘शताब्दीयौंदेखि, यो स्वाभाविक भयो कि विभिन्न साधकहरूले बुद्धका प्रवचनहरूबाट आ-आफ्नो अर्थ ग्रहण गरे र यसरी अनेकौं सम्प्रदायहरू जन्मिए। विस्तृत वर्गीकरणमा आज हाम्रासँग थेरवाद, महायान र वज्रयान परम्पराहरू छन्, जसमा प्रत्येकमा धेरै सम्प्रदाय र मतहरू छन्। यसबाहेक, बौद्ध धर्मको यस्तो उत्कर्ष इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न दिशामा भएको थियो। फराकिलो भूगोलमा धम्मको यस प्रसारले एउटा समुदाय, एक विशाल संघ निर्माण गर्यो। यस अर्थमा बुद्धको ज्ञान भूमि भारत यसको केन्द्रमा छ। तर, ईश्वरको बारेमा भनिने कुरा यस विशाल बौद्ध संघमा पनि सत्य हो: यसको केन्द्र हरेक ठाउँमा छ र सिमाना कतै छैन।‘

राष्ट्रपति द्रौपदी मुर्मुले भनिन्, ‘आजको समयमा जब संसार अस्तित्वको संकटसँगै जलवायु संकटको पनि सामना गरिरहेको छ, यस्तो अवस्थामा यो विशाल बौद्ध समुदायसँग मानवतालाई दिने धेरै कुरा छ। बौद्ध धर्मका विभिन्न सम्प्रदायहरूले संसारलाई देखाउँछन् कि संकीर्ण सम्प्रदायवादको सामना कसरी गर्ने। उनीहरूको मुख्य सन्देश शान्ति र अहिंसामा केन्द्रित छ। यदि एउटा शब्द बौद्ध धम्मलाई व्यक्त गर्न सक्छ भने त्यो हो ‘करुणा’ वा दया, जसको आजको संसारलाई धेरै आवश्यकता छ।‘ उनले भनिन्, ‘बुद्धका शिक्षाको संरक्षण हामी सबैका लागि एक महान सामूहिक प्रयास हो।‘ उनले खुशी व्यक्त गरिन् कि भारत सरकारले अन्य भाषाहरूको साथसाथै पाली र प्राकृतलाई पनि ‘शास्त्रीय भाषा’ को मान्यता दिएको छ। उनले भनिन्, ‘पाली र प्राकृत भाषालाई अब वित्तीय सहयोग प्राप्त हुनेछ, जसले तिनका साहित्यिक खजानाको संरक्षण र पुनरुत्थानमा महत्त्वपूर्ण योगदान गर्नेछ। एसियालाई सुदृढ बनाउन बौद्ध धर्मको भूमिकाका बारेमा हामीले चर्चा गर्न आवश्यक छ। वास्तवमा, हामीले यसबारे विस्तृत छलफल गर्नुपर्छ कि बौद्ध धर्म एसिया र विश्वमा शान्ति, वास्तविक शान्ति कसरी ल्याउन सक्छ- यस्तो शान्ति, जसले शारीरिक हिंसामात्रै होइन, सबै प्रकारका लोभ र घृणाबाट पनि मुक्ति दिलाओस्। बुद्धका अनुसार, यी दुई मानसिक शक्तिहरू हाम्रो सम्पूर्ण दुखहरूको मूल कारण हुन्।‘ उनले विश्वास व्यक्त गरिन्, ‘यो शिखर सम्मेलन बुद्धका शिक्षाको हाम्रो साझा धरोहरको आधारमा हाम्रो सहकार्यलाई सुदृढ बनाउन लामो यात्रा तय गर्नेछ।‘ –पीआईबी