दार्जीलिङ: बीस प्रतिशत चिया बोनसको श्रमिक चाहाना एवं इच्छा वार्तामार्फत जसरी पनि परिपूर्ति गरिएको हुनु पर्ने अडान गोजमुमो अध्यक्ष बिमल गुरूङले स्पष्ट गरेका छन्। गोजमुमो अध्यक्ष विमल गुरूङले रहल चिया बोनसबारे भोलि ६ नोभेम्बरमा कोलकातामा हुने त्रिपक्षीय वार्ता फलदायी तथा श्रमिकहरूको हितमा हुनु पर्ने बताएका छन्। उनले बोल्न नसक्ने नेतृत्वहरुले चाढ बाढको मुखमा श्रमिकहरूलाई रूवाउने काम गरेको आरोप लगाएका छन्। दार्जिलिङमा पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङले भनेका छन् – ‘श्रमिकहरूले दु:ख गरेर वर्षभरि काम गर्छन् तर पाउने बेलामा राम्रोसितले केही पाएको छैन। विशेष गरी चाढ बाढको समयमा श्रमिकहरूले दु:ख पाएको छ। एकदमै अशान्ति भएको छ।”
गुरुङले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै भोलि ६ नोभेम्बरमा हुने बोनसको वार्ता श्रमिकहरूको हितमा हुने र श्रमिकहरूले न्याय पाउने कुरामा आशावादी रहेको बताएका छन्। उनले ट्रेड युनियनहरूलाई वार्ता श्रमिकहरूको हितमा निर्णय गर्ने गर्नुपर्छ भनी सुझाव दिएका छन्। गोजमुमो अध्यक्ष बिमल गुरुङले भने, -‘२०१२ देखि २०१७ सम्म म अभिभावकक रूपमा हुँदै श्रमिकहरूले बीस प्रतिशत पाउने गरेको थियो। बोनसको लागि श्रमिकहरूले आन्दोलन गर्नु परेन। तर २०१७ पछि पहाड़को अवस्था डामाडोल भएको र पहाड़ अभिभावकविहीन जस्तै छ। नेताहरू छन् तर बोलिन नसक्ने र पहिलेबाटै जिब्रो काटिएको छ र बोल्न सक्दैनन्।’