सुपर कपः चाराली स्पोर्टिंग क्लब सेमिफाइनलमा

२७ अगस्त: बीरपाड़ा बादाहाउदा देविसिमुल सर्व समाजको तत्त्वावधानमा आयोजित सुपर कप २०२२ फूटबल टुर्नामेण्टको सीजन २-को दोस्रो दिन (शुक्रवार) पूल बी-मा क्वार्टर फाइनलसम्मको म्याचहरू खेलियो। बीरपाड़ा फरेष्ट (जारिप) मैदानमा जारी नाइन ए साइड टुर्नामेण्टको दोस्रो दिन शुक्रवार लगातार म्याचहरू जितेर चाराली स्पोर्टिंग क्लब (झापा, नेपाल)-ले सेमिफाइनलमा स्थान बनायो। पहिलो क्वार्टर फाइनलमा चाराली स्पोर्टिंग क्लबले बिन्नागुड़ी युनाइटेडलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका गोलकीपर सुरज लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो क्वार्टर फाइनलमा प्रगति क्लब र बीरपाड़ा पीएस-बीच भिड़न्त भयो। म्याचको नियमित समयमा स्कोर १-१-को बराबरीमा रह्यो। त्यसपछि समयको अभावले गर्दा टाईब्रेकर चाहिँ हुन सकेन।

अब यी दुई टीमबीच टाईब्रेकर शनिवार गराइनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच २७ अगस्तमा खेलिनेछ। यस चारदिने फूटबल टुर्नामेण्टको फाइनल २८ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। गत वर्ष भएको सुपर कपको पहिलो सीजनमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी च्याम्पियन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement