२७ अगस्तः फूटबलको वैश्विक सञ्चालन संस्था फीफा-ले अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-माथि लगाएको प्रतिबन्धलाई हटायो। फीफा-ले एआईएफएफ-मा तेस्रो पक्षको अनावश्यक हस्तक्षेपले गर्दा प्रतिबन्ध लगाएको थियो। त्यसपछि एआईएफएफ प्रबन्धनमा भइरहेको बद्लाउले गर्दा फीफा-ले शुक्रवार राति प्रतिबन्ध हटायो। अब भारतले पूर्व निर्धारित कार्यक्रम अनुसार अक्टोबरमा फीफा अण्डर-१७ महिला विश्व कपको आयोजन गर्नेछ। फीफा अण्डर-१७ महिला विश्व कपको आयोजन ११-देखि ३० अक्टोबरसम्म भुवनेश्वर, गोवा र मुम्बईमा हुनेछ। यसअघि फीफाले १५ अगस्तको दिन एआईएफएफ-माथि प्रतिबन्ध लगाएको थियो। फीफा-का नियमहरू र संविधानको गम्भीर उल्लंघनले गर्दा यस्तो कार्वाही गरिएको थियो। यस फसेलाले गर्दा भारतमा हुने अण्डर-१७ महिला विश्व कपको आयोजन पनि खोसिएको थियो। एआईएफएफ-को ८५ सालको इतिहासमा यस्तो घटना पहिलोपल्ट भएको थियो। यो प्रतिबन्ध ११ दिनसम्म चल्यो।
फीफाले प्रतिबन्ध लगाएपछि सुप्रीम कोर्टमा २२ अगस्तको दिन सुनुवाई भएको थियो। अदालतले अघिल्लो आदेशसम्मको निम्ति मईमा बनाइएको तीन सदस्यीय प्रशासकहरूका समिति (सीओए)-लाई भंग गरेको थियो। यसअघिसम्म एआईएफएफ-को दैनिक कार्यहरूको सञ्चालन सीओए-ले नै गर्दै आएको थियो। भारतीय फूटबलमा यो समस्त विवाद एआईएफएफ-का पूर्व अध्यक्ष प्रफुल्ल पटेलले गर्दा शुरु भएको थियो। पटेल २००९-देखि एआईएफएफ-को अध्यक्ष थिए। भारतको स्पोर्ट्स कोड अनुसार कुनै पनि व्यक्ति ३ पल्टभन्दा अधिक अध्यक्ष पदमा रहन सक्दैनन्। प्रफुल्लमाथि समय पूरा भएपछि पनि चुनाउ नगराइ अध्यक्षको कुर्सीमा बसेको आरोप रहेको थियो। कुर्सी नछोड़्ने ढीट प्रवृत्तिले गर्दा नै अदालतले उनलाई अध्यक्ष पदबाट हटाएर सीओए-को नियुक्ति गरेको थियो।