भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे
भद्रपुर: नेपालीहरूको दोस्रो महान चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ। आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइन्छ। आजको दिनलाई यम द्वितीया पनि भनिन्छ।
भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे यस वर्षको भाइटीकाको उत्तम साइत आइतबार बिहान ११:३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। आज बिहान ११:३७ बजे भाइटीकाको शुभसाइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।
पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि आजैको दिन गर्नुपर्ने जनाइएको छ। यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठुलो चाड तिहार अक्टूबर २९ मंगलबारदेखि सुरु भएको थियो।
मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइयो। यम दीपदान भने अक्टूबर ३० बुधबार परेको थियो। कागतिहार पनि बुधबार नै मनाइयो। आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि बुधबार नै मनाइयो।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि अक्टूबर ३१बिहीबार नै मनाइयो। नवंबर १ शुक्रबार औँसी परेको थियो। त्यस दिन भने तिहारको कुनै पर्व परेन।
नवंबर २ शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्ह:पूजा र नेपाल संवत् ११:४५ प्रारम्भ भएकाले धुमधामसँग मनाइयो। यसैगरी, नवंबर ७बिहीबार छठपर्व परेको छ।