भद्रपुर: नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा लिइन्छ। यो पर्वले नेपाली मौलिक परम्पराको अर्को परिचय पनि दिएको छ। त्यो भनेको देउसी भैलो खेल्नु।
देउसी भैलोको आफ्नै विशेषता छ। त्यसको आफ्नै लय छ। एउटाले भट्याउने र अरु सहभागीले देउसी रे वा भैलो भन्ने गर्छन्। तर पछिल्ला दिनमा देखासिकी बढ्दै गएको छ। चर्को स्वरमा गीत बजाएर ध्वनी प्रदुषण नै हुने गरी युवाले संस्कृतिको नाममा विकृति फैलाइरहेको गुनासो व्याप्त छ।
आधुनिकताको नाममा देउसी भैलो गाउने तरिका बदलिएको छ। खासगरी देउसी पुरुष र भैलो महिलाले खेल्ने परम्परा भए पनि शहरी क्षेत्रमा त्यो विशेषता समेत हराएको छ। विगतमा राम्रो तयारी गरेर युवा पुस्ताले देउसी भैलो खेल्थे। पहिले पहिले पुरुषले दौरा सुरुवाल र महिलाले गुन्यु चोलो लगाउँथे, देउसी भेलो खेल्थे।
आर्शिवाद थाप्थे र आफ्नो गच्छे अनुसार, दक्षिणा दिन्थे। आजकल भने तोकेर नै दक्षिणा माग्ने प्रवृत्ति मौलाएको छ। देउसी भैलोबाट उठेको रकम आफुखुसी खर्च गर्ने वा सामाजिक काममा उपयोग गर्ने भन्ने बारेमा पनि फरक फरक मत छ।
देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो। विद्युतीय सामग्रीको प्रयोग गरेर खेल्दा परम्पराको जगेर्ना नहुने आम गुनासो रहँँदै आएको छ। नयाँ पुस्तालाई मौलिक संस्कार र पहिचानका बारेमा सचेत गराउनुपर्ने मत पनि उत्तिकै बलियो बन्दै गएको छ।
सांस्कृतिक पक्ष कम, मनोरञ्जन बढी हुँदै जाँदा देउसी भैलोको परम्परागत महत्व समेत ओझेलमा परेको छ। स्थानीय लोकबाजाको प्रयोगमा कमी आएको छ। खासगरी पैसा संकलनको मात्रै माध्यम बनाइँदा त्यसले विकृति फैलाउन सहयोग पुर्याएको देखिन्छ।
तिहारलाई पारिवारिक सम्बन्ध र संस्कारको पर्वका रुपमा लिइन्छ। यमपञ्चकका रुपमा चिनिने यो पर्व पाँच दिन मनाइन्छ। खासगरी धन दौलत वैभव र सुखसँग जोडिने भएकाले पनि यस पर्वलाई समृद्धिको पर्वका रुपमा पनि लिइन्छ।
काग, कुकुर, गाई, गोरुको समेत पूजा गरिने भएकाले तिहारलाई प्रकृतिसँग एकाकार भएको पर्वका रुपमा हेरिन्छ। यस पर्वको महत्वसँगै सयपत्री, मखमली र गुर्दौली फूल, र सेल रोटी पनि सँगै जोडिएर आउँछ। आधिकारिक रुपमा केही तथ्य प्रमाण नभए पनि नेपालको मध्यकालदेखि देउसी भैलो सुरु भएको किंवदन्ती छ। जुम्लाको खस राज्य र बलीसँग यसको सांस्कृतिक पक्ष जोडिएको समेत बताइन्छ।
देउसी रे वा देवश्री यसलाई देवताको आर्शिवादका रुपमा लिइने सांस्कृतिक मूल्य र मान्यता छ। परम्परादेखि नै तिहारमा गाइने देउसी र भैलोले नेपाली समाजलाई उत्सवमय बनाएको छ। यसलाई उत्सव, उल्लास र उत्साहको गीतका रुपमा पनि लिइन्छ। तर, संस्कृति जगेर्नाको नाममा भइरहेको गलत क्रियाकलापलाई भने छुट दिन नहुने मत पनि उत्तिकै छ।
यमपञ्चकको कथामा भट्याएर खेलिने देउसी भैलो आजकल रेकर्ड गरिएको गीत बजाउने मात्रै गरिँदा मौलिकपन हराउँदै गएको छ। नेपाली, कला, संस्कृति र परम्परासँग जोडिएको यस पर्वलाई विकृति र विसङ्गतिमुक्त बनाउँदै भावि पुस्तालाई समेत जानकारी गराउनु आवश्यक छ। सांस्कृतिक अतिक्रमण बढ्दै गएको सन्दर्भमा तिहार र यससँग जोडिएको मौलिकतालाई विस्तार गर्नु जरुरी छ।