गान्तोक: एसकेएम सरकारले लिम्बू र तामाङको सीट आरक्षणलाई लिएर आफ्नो फर्मूला स्पष्ट गर्न सक्नु पर्छ भनी सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) बताएको छ। यदि वर्तमान सरकारले पनि पूर्वको सरकारकै फर्मूला अपनाउॅंछ भने जनतालाई न्याय दिलाउन सक्दैन भनी एसआरपीले दावा गरेको छ।
हालैमा सम्पन्न भएको सिक्किम विधानसभाको दुई दिवसीय अधिवेशनमा लिम्बू र तामाङको सीट आरक्षण विषय भएका चर्चाप्रति आफ्नो प्रतिक्रिया जनाउॅंदै एसआरपी अध्यक्ष केबी राईले उक्त कुरा भनेका हुन्। लिम्बू र तामाङले सीट आरक्षण पाएन भनेर नै जनताले एसकेएम पार्टीलाई सत्तामा ल्याएको हो र सरकारले पनि विधानसभामा सीट आरक्षणका लागि हामी यो पहल गर्दै छौ भनेर स्पष्ट गर्नु पर्छ भनी उनले बताए।
सीट आरक्षणका लागि केन्द्र सरकारलाई अनुरोध गर्दैछौ, ज्ञापन बुझाउॅंदै छौ भनेर कुरा गर्नु भनेको पुरानै सरकारले गाएको गीत गाउनु हो भनी राईले बताए। यदि वर्तमान सरकारले पनि पूर्वकै सरकार जस्तो चरित्र देखाउॅंछ, त्यही फर्मूला अपनाउॅंछ र जनतालाई भ्रममा राख्ने कुरा गर्छ भने सिक्किमे जनतालाई न्याय दिलाउन नसक्ने उनले ठोकुवा गरे।
अर्कोतिर, राईले सीट आरक्षणलाई लिएर गठन गरिएको कमिटीको कामकाजमाथि पनि प्रश्न उठाए। उक्त कमिटीले संघ संस्थाहरूबाट कस्ता विचारहरू लिने कार्य गरिरहेका छन् स्पष्ट गर्नु पर्छ भनी उनले बताए। कमिटीले यदि राजनीतिक पार्टीहरूबाट पनि विचारहरू लिन चाहन्छन् भने एसआरपीलाई पनि निम्त्याएको हुनुपर्छ भन्ने कुरा राखे। यदि एसआरपीलाई निम्तो गरिॅंदैन अथवा एसआरपीको विचार लिॅंदैन भने वर्तमान सरकारले सीट दिलाउन सक्दैन भन्ने स्पष्ट हुने उनले दाबी गरे। उनले आरक्षणका लागि विधानसभाको सीट बढाउने कुरा भनेको भ्रम मात्र रहेको बताए।










