बिर्तामोड़: झापाको अर्जुनधारा ६ स्थित दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सो मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिश्वरेबाट बिर्तामोडतर्फ जाँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई रोडको बाँया साइडको रुखमा ठोक्किएको थियो। दुर्घटनामा चालक ताप्लेजुङ श्रीजंङघा गाउँपालिका वडा नम्बर ६ का २६ सन्तोष लिम्बूको मृत्यु भएको हो। उनको टाउकोमा र छातीमा चोट लागी अवस्था गम्भीर रहेको थियो। तत्काल उपचारका बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको बताएका थिए। सो मोटरसाइकलको पछाडि सवार २३ वर्षीय श्रीप्रसाद लिम्बूको हातखुट्टामा सामान्य चोट लागेको छ। उनकाे उपचार भइरहेकाे छ।