रंगेली: मोरङको रंगेलीमा घाँस काट्न गएका वृद्ध पानीमा डुबेको अवस्थामा शुक्रबार राति मृत फेला परेका छन्।
रंगेली नगरपालिका-९ महिनाबारीका ६४ वर्षीय लखन सतार मृत भेटिएका हुन्। प्रहरीका अनुसार घाँस काट्न भनेर अपरान्ह हिँडेका उनी बेलुकासम्म घर नफर्किएपछि खोजी थालिएको थियो। आफन्त र परिवारका सदस्यले खोजी गर्ने क्रममा स्थानीय झमक मगरको खेतको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार घटनाका बारेमा राति ११ः३० बजेतिर स्थानीयले प्रहरीलाई जानकारी गराएका हुन्।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा पठाएको छ। सतारको मृत्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।