गान्तोक: राज्य एवं केन्द्र शासित राज्यहरूको स्थापना दिवस देशभरिकै सबै राजभवनहरूमा मनाउने क्रममा आज सिक्किमको राजभवनमा आन्ध्र प्रदेश, अण्डमान एवं निकोबार द्वीप, चण्डीगढ, छत्तीसगढ, दिल्ली, हरियाणा, कर्नाटक, केरल, लक्षद्वीप, मध्य प्रदेश, पुडुचेरी, पंजाब एवं तमिलनाडुको स्थापना दिवस आयोजन गरियो। कार्यक्रमको अध्यक्षता राज्यपालका सचिव जिग्मी दोर्जी भोटियाले गरे। कार्यक्रममा मध्य प्रदेशका राज्यपाल मंगभाई पटेलको सन्देश एवं राज्यको सुन्दरतालाई प्रदर्शित गर्ने एक मनोरम भिडियो सन्देश प्रदर्शित गरियो। यस अवसरमा विभिन्न राज्यका निवासीहरूलाई आमन्त्रित गरिएको थियो। कार्यक्रममा सिक्किम राजभवनद्वारा दिवाली पर्वको उपलक्ष्यमा सांस्कृतिक लोक नृत्य देवसी-भैलो पनि प्रस्तुत गरियो। राजभवनको तर्फबाट आमन्त्रित सबै अतिथिहरूलाई सम्मानित गरिएको थियो।आफ्नो सम्बोधनमा सचिवले राज्य र केन्द्र शासित प्रदेशहरूको सांस्कृतिक, भौगोलिक र सामाजिक स्थितिको बारेमा जानकारी गराए। यसका साथै उनले राज्यपालद्वारा प्रेषित शुभकामना पनि सबै समक्ष साझा गरे। कार्यक्रमको संचालन पीआरओ ममता अवस्थीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन पीआरओ (अंग्रेजी) ले गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।