विराटनगर: तिहारमा रमाइलो गर्ने नाममा मोरङका अलगअलग स्थानमा पटका पड्काउँदा बालकसहित दुई जना घाइते भएका छन्।
विराटनगर र रंगेलीमा बिहीबार राति घटना भएको हो। बिहीबार मध्यराति पटका पड्काउँदा विराटनगर महानगरपालिका-४ का ३८ वर्षीय पंकज गुप्ता घाइते भएका छन्। पट्का पड्काउँदा छर्राले उनको दाहिने हातमा चोट लागेको हो।
प्रहरीका अनुसार गुप्ताको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, रंगेली नगरपालिका–६ मा १३ वर्षीय बालक घाइते भएका छन्। पटका पड्काउँदा प्रकाश महतोका छोरा सुशीलकुमार महतो घाइते भएको प्रहरीले जनाएको छ।
पटकाको छर्राले लागेर उनको दुवै हात र पेटमा चोट लागेको छ। उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएका बालकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी प्रहरीले दिएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए। तिहारमा पटका पड्काउँदा मानवीयदेखि भौतिक क्षति हुने गरेका घटना सार्वजनिक भइरहेको छ। प्रहरीले पटका नपड्काउन र सम्भावित क्षतिबाट जोगिन सबैलाई अनुरोध गरेको छ।