थाई एयर एसियाले काठमांडू र भैरहवामा उडान गर्ने

IMG-20241101-WA0198

भैरहवा: थाई एयर एसियाको यही नवंबर ३ आइतबारदेखि काठमांडूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ।
कम्पनीलाई सातामा काठमांडूमा चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको छ। भैरहवाको उडान बन्द गरेमा काठमांडूको उडान स्वतः रद्द हुने सर्त समेत राखी उडान फुकुवा गरिएको छ।
अक्टूबर ११मा अनुमति बिना काठमांडू आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो। एयरलाइन्सले प्राधिकरणसंग माफी मागेपछि निलम्बित उडान फुकुवा भएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमांडू र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको छ।
“नोभेम्बर ३ तारिखदेखि साताको दुई उडान भैरहवाबाट गर्ने उडान तालिका पेस गरेपछि, जुन दिनबाट भैरहवाबाट उसले उडान गर्छ, त्यही मितिबाट काठमांडूबाट पनि उडान पुनः सुरु गर्ने सर्तमा थाई एयर एसियालाई नेपालमा उडान अनुमति फुकुवा गरिएको छ। ‘एप्रुभल सेड्युल’अनुसार काठमांडू र भैरहवासँगै उडान गर्नुपर्नेछ”, उनले भने।
थाई एयर एसियाले स्पष्टीकरण पेस गरेर माफी मागेपछि उसको सम्पूर्ण उडान फुकुवा गरिएको सूचना अधिकारी भूलले जानकारी दिए। बिना अनुमति थाइल्यान्डबाट काठमांडू आएको थाई एयर एसियाको विमानलाई झन्डै एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमांडू विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको थियो। एयरलाइन्सको नेपालका लागि आधिकारिक एजेन्ट (जीएसए)लाई पनि कारबाही गरिएको थियो।
थाई एयर एसियाले अक्टोबर २६ सम्मका लागि मात्रै उडान अनुमति लिएको थियो। प्राधिकरणले अक्टूबर २८ देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो। अनुमति नलिई उडान विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो।
प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ। थाई एयर एसियाले गत नवंबर १बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement