गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-का अध्यक्ष पवन चामलिङलाई काठमान्डौँस्थित पारिजात स्मृति केन्द्र-ले सम्मान जनाउने निर्णय लिएको छ। यस केन्द्रलाई स्थापनाकालदेखि उल्लेख्य सहयोग दिनका साथै भाषा-साहित्यको उत्थान र सम्वर्द्धनमा साहित्यिक लेखनका माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेवापत चामलिङलाई आगामी १० सेप्टेम्बर, २०२२ का दिन सम्मान जनाउने भएको हो। उक्त जानकारी एसडीएफले प्रेस विज्ञप्तिमा दिएको छ।
विज्ञप्ति अनुसार, नेपाली साहित्यकी महान साहित्यकार पारिजात-को स्मृतिमा स्थापित यस संस्थाद्वारा पवन चामलिङलाई सम्मान जनाउने खबर भारतीय नेपाली भाषा-साहित्यका अनुरागीहरू तथा सिक्किमेली जनताका लागि सुखद खबर बनेको छ। एसडीएफ पार्टीले पारिजात स्मृति केन्द्रद्वारा गरिने सम्मानका निम्ति मनोनित भएकोमा पार्टी अध्यक्ष तथा कवि, गीतकार पवन चामलिङलाई अग्रिम बधाई दिएको छ।