खरसाङ: लङ्भ्यू चियाबारीको अवस्था हाल अत्यन्तै गम्भीर बन्दै गइरहेको विषयलाई अघि राख्दै क्षेत्रीय सभासद कल्पना प्रधानले उनी लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा यहाँको समस्याप्रति अवगत रहेको र यसको समाधान गर्ने दिशातिर लागिपरेको जनाएकी छन्। सभासद प्रधानले सबै चियाबगानमा सोह्र प्रतिशत बोनस दिँदा लङ्भ्यूमा मात्रै दश प्रतिशत बोनस दिनु त्यहीमाथि पनि स्टाफ-सबस्टाफहरूको भने अझसम्म दिइएको छैन भन्दै मालिकवर्गको कारणले गर्दा पनि आज यस्तो स्थिति भएको भन्दै यद्यपि यसको समाधान गर्न तिनीहरूले जिल्ला शासक अनि श्रम विभागलाई पत्रचार गरेकै फलस्वरूप आगामी ११ नोभेम्बरमा एउटा बैठक डाकिएको दावी गरेकी छन्। लङ्भ्यू समस्यालाई लिएर आज सत्तारुढ दल अनि जीटीएलाई मात्र दोष दिने काम गरिरहेको जनाउँदै जीटीए मुख्य कार्यपाल अनित थापा लगायत सबै निर्वाचित प्रतिनिधिहरू तथा पार्टी प्रतिनिधि अनि ट्रेड युनियनका प्रतिनिधिहरूले कार्य गरिरहेको तथा मालिकवर्गलाई चाप दिइरहेको जनाइन्। समस्याको समाधान टेबलमा बसेर नै हुने जनाउँदै प्रधानले मालिकपक्ष अनि सरकारले लङ्भ्यू समस्याको समाधान अतिशीघ्र गरिदिनेछ भन्ने कुरोमा आफू पूर्ण रूपले विश्वस्त रहेको बताएकी छन्।