पाकिममा सिक्किम आमा सशक्तिकरण योजनाबारे कार्यक्रम

पाकिम: पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा आज सिक्किम जनमुखी सिक्किम आमा सशक्तिकरण योजनाबारे कार्यक्रम सम्पन्न भयो। महिला एवं बाल विकास विभागद्वारा आयोजित कार्यक्रममा कल्याण विभागबाट एक टोलीले राज्यको छवटै जिल्लामा भ्रमण गरेर जनमुखी कार्यक्रमबारे जिल्ला अधिकारीहरू अनि कर्मचारीहरूलाई निर्देश दिइनेछ। सिक्किम आमा सशक्तिकरण योजनाको रेखदेख गर्न महिला एवं बाल विकास विभागका संयुक्त सचिवको अधीनमा पाँच सदस्यीय प्रबन्धन एकाईको गठन गरिएको छ।

जानकारी गराइन्छ, सिक्किम आमा सशक्तिकरण योजना एक कल्याणकारी योजना हो। गत १५ अगस्तको दिन नाम्चीस्थित भाइचुङ स्टेडियमबाट राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले यसको विधिवत शुरुआत गरेका थिए। यस योजनामार्फत बेरोजगार, अविवाहित, विधवा, छुटानाम भएका अथवा छुट्टै बस्ने सिक्किमेली महिलाहरूलाई राज्य सरकारद्वारा स्टेट ब्याङ्क अफ् सिक्किममार्फत वित्तीय सहयोग स्वरूप वर्षमा सोझै ब्याङ्कमा ₹ २० हजार ट्रान्सफर गरिनेछ।

आजको कार्यक्रममा महिला एवं बाल विकास विभाग संयुक्त सचिव एवं सिक्किम आमा सशक्तिकरण योजनाका कार्यक्रम अधिकारी खेमराज भट्टराईले यस योजनाका दिशानिर्देशन, लक्षित झुण्ड अर्थात लाभार्थीहरू, योग्यताको मापदण्ड, आवेदनको प्रक्रिया, भुक्तानसँगै विविध विषयबारे जानकारी गराए।

आफ्नो सम्बोधनमा अतिरिक्त जिल्लापाल अनुपाल तामलिङले जिल्लाका सबै खण्ड विकास अधिकारीहरूलाई योजनाका साँचो लाभार्थीहरूको छनौट गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। आजको कार्यक्रममा महिला एवं बाल विकास विभागका सम्बन्धित अधिकारीहरू अनि उपस्थित कर्मचारीहरूमाझ अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement