एसडीएफ पार्टी त्याग गर्दै १४७ जनाले एसकेएम पार्टीको झण्डा समाते

आमा योजनामा २० हजारदेखि ५० हजार बनाउने-मुख्यमन्त्री तामाङ

गान्तोक: वर्तमान सरकारको नीति, सिद्धान्त र कार्यशैली मन पराएर एसकेएम पार्टीमा सामेल हुने क्रम जारी रहेको छ। यसै क्रममा आज राजधानीस्थित समन भवनमा कूल १४७ जनाले एसडीएफ पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल भए। आज पार्टीमा सामेल हुनेहरूमा विशेष गरेर कवि लुङचोक निर्वाचन क्षेत्र र बर्फुङ निर्वाचन क्षेत्रका एसडीएफ पार्टीका सक्रिय युवा, युवा संयोजक, पूर्व जिल्ला पञ्चायत र वर्तमान पञ्चायत साथै चेलीहरू रहेका छन्। आज पार्टीमा सामेल हुनेहरूलाई राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पार्टीको झण्डा, पुस्तक प्रदान गर्दै पार्टीमा स्वागत जनाए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले वर्ष २०१९ को चुनाउमा एसकेएम पार्टीले १७ सीट ल्याएर सरकार गठन गर्न सफल बन्यो। तर पूर्व सरकारले हारेको क्षेत्रलाई सुकौरो लगाउँछौं भन्दै तत्कालिन मुख्यमन्त्री चामलिङले सार्वजनिकरूपमा भाषण गर्दै आइरहेको बताए।तर हामी यसको ठीक विपरीत प्रकारले काम गर्दै आइरहेको उनले जानकारी गराए। वर्तमान सरकारले हारेको क्षेत्रलाई प्राथमिकता दिँदै काम गरिरहेको उनले किटान गरे। हामीले जिरो एनीमीको भावना राखेर काम गर्दै आइरहेको हुनाले अहिले राज्यको सबै निर्वाचन क्षेत्रबाट एसकेएम पार्टीमा सामेल हुने क्रम जारी रहेको उनको भनाइ रहेको थियो। एसकेएम पार्टी सरकारमा नहुँदा पनि कहिलै आतिएन र सरकारमा आएपछि पनि नमातिएको अवगत गराए। राजनीतिज्ञहरू एसडीएफ सरकारले २५ वर्षमा नसोचेको कामहरू एसकेएम सरकारले तीन वर्षको अवधिमा शुरू गरेको मुख्यमन्त्री तामाङले थप जानकारी गराए। आफू पन्ध्र वर्षसम्म एसडीएफ पार्टीमा बसेर इमान्दारपूर्वक आफ्नो कर्तव्य पुरा गरेको तर पनि पूर्व मुख्यमन्त्रीले आफूमाथि विभिन्न प्रकारको षडयन्त्र गरेपछि जेल समेत जानु परेको उनले आफ्नो सम्बोधनमा उल्लेख गरे। तर १९९७ मा इम्पलोयमेन्ट एक्सचेञ्जको मुद्दामा एसडीएफ सरकार सत्ताच्युत हुन लागेको र आफूले त्यसबेला पार्टी र सरकारलाई बचाएको मुख्यमन्त्रीले किटान गरे। उनले चामलिङलाई सैध्दान्तिक दुशमन रहेको तर व्यक्तिगतरूपमा भने कुनै प्रकारको दुश्मनी नरहेको पनि अवगत गराए। एसकेएम पार्टी सत्तामा आएपछि विपक्षीकोरूपमा चामलिङलाई एक अनुभवी नेता मानिलिएको र उनीबाट केही अनुभव पाउन सक्ने अपेक्षा गरिएको थियो तर उनको अहंकारले गर्दा विधानसभामा अनुपस्थिति दर्शाएको जानकारी गराए। राज्य सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाबारे पनि उनले प्रकाश पारे। विशेष गरेर प्रत्येक वर्ष आमाहरूलाई प्रदान गरिने धनराशि २० हजारदेखि वृद्धि गरेर ५० हजार पुऱ्याउने म मुख्यमन्त्रीले आज घोषणा गरे।

यस अवसरमा मन्त्री सञ्जीत खरेल, मन्त्री लोकनाथ नेपाल, मन्त्री भीम हाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीमा सामेल हुनेहरूले एसडीएफ पार्टीमा बसेर काम गर्दाको अनुभव बाँडे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement