इनरुवा: सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा १ करोड ६० लाख भन्दा बढी राजस्व संकलन गरेको छ। सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानबाट १ करोड ६० लाखभन्दा बढी राजस्व संकलन गरेको सशस्त्र प्रहरी एसपी समेनन्द बज्राचार्यले जानकारी दिए। उनका अनुसार गत जुलाईमा ४७ लाख ३४ हजार चार सय ६९, अगस्तमा ६१ लाख पाँच हजार पाँच सय दुई, सेप्टेम्बरमा ३२ लाख नौ हजार पाँच सय ३६ र अक्टूबरको हालसम्म १९ लाख ५३ हजार छ सय ३७ राजस्व संकलन भएको हो। सीमा क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणका क्रममा विभिन्न किसिमका भन्सार छलीका सामग्री पक्राउ गरेर भन्सार कार्यालयमा बुझाउँदा सो बराबरको राजस्व संकलन भएको प्रहरी एसपी बज्राचार्यले बताए। उनका अनुसार सशस्त्र प्रहरी बल ४ नम्बर गण मातहत सुरक्षा पोष्ट र बिओपीबाट राजस्व संकलन हो।