दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा सिक्किमको फ्यूचर स्टार स्पोर्टिंग क्लबले चरम रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा बुधवार भएको पहिलो सेमिफाइनल म्याचमा फ्यूचर स्टार स्पोर्टिंग क्लबले रेड हर्स फूटबल क्लब (इलाम, नेपाल)-विरुद्ध पेनल्टी शूटआउटमा ५-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। हेमन लिम्बु र पासंग शेर्पाको गोलको सहायताले रेड हर्स फूटबल क्लब एक समय जीतको नजिक पुगिसकेको थियो तर सिक्किमको टीमले पनि इञ्ज्युरी टाइममा २ गोल गरी स्कोर बराबरीमा पुऱ्यायो। फ्यूचर स्टार स्पोर्टिंग क्लबबाट इञ्ज्युरी टाइममा दुवै गोल प्रीतम सन्यासीले गरे। प्रीतमलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने दोस्रो सेमिफाइनलमा कञ्चनजंघा फूटबल क्लब र एकाडमी नाइट्स (गान्तोक)-बीच भिड़न्त हुनेछ। यसरी फाइनल ८ नोभेम्बरमा खेलिनेछ।

यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबको पक्षमा बिनोद छेत्रीले बताएका छन्।