गान्तोक: पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत सोमबारिया पुलिसले दुई व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी व्यक्तिहरूको नाम पुष्पलाल छेत्री(३९) र दिवस राई(३७) बताइएको छ।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज जारी प्रेस विज्ञप्तिमा बताए अनुसार, आरोपीहरूलाई मंगलवार सोमबारिया बजारबाट पक्राउ गरियो। छानबिनको क्रममा आरोपीहरूबाट १२५ वटा विन्डलास विनस्पास्मो क्याप्सुल बरामद भएको छ। आरोपीहरू विरूद्ध मामिला दर्ता गरि जॉंच शुरू गरिएको छ।
पुलिस अधीक्षकले आरोपीद्वय पुष्पलाल छेत्री र दिवस राई लामो समयदेखि पुलिसको निगरानीमा थियो भनी जानकारी गराएका छन्। आरोपीहरूको एउटा भ्यान पनि जफत गरिएको छ। उनले सोरेङ जिल्लालाई ड्रग्स मुक्त बनाउन नागरिक समाजका सदस्यहरूलाई हात मिलाउन आह्वान गरेका छन्।