काठमाडौं: निवर्तमान गृहमन्त्री रवि लामिछाने यतीबेला प्रहरी हिरासतमा छन्। सहकारीको रकम ग्यालेक्सी टिभीबाट हिनामिना गरेको आरोप उनीमाथि छ।
यसरी निवर्तमान गृहमन्त्रीलाई पक्राउ गर्न सक्ने प्रहरीले आफ्नै एक इन्सपेक्टरलाई भने गम्भीर मुद्दामा पक्राउ गर्न सकेको छैन।हनि ट्रयापिङ गिरोहसँग मिलेर पैसा असुल्ने निलम्बित इन्सपेक्टर बिनुकुमारी शाहीलाई पक्राउ नगर्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ। खुलेआम रहेकी शाहीलाई पक्राउ गर्न प्रहरीले चासो नै दिएको छैन। कतै प्रहरी संगठन नै उनलाई जोगाउन लागेको त होइन भन्ने प्रश्न समेत उठेको छ।
प्रहरी प्रभाग,भैंसेपाटीको प्रमुख हुँदा इन्सपेक्टर शाहीले एक व्यवासायीलाई थुनामा राखी ३० लाख रुपैयाँ लेनेदन गरी छाडेकी थिइन् ।मिलापत्र गराएपछि उनले छुट्टै डेढ लाख रुपैयाँ घुस समेत लिएकी थिइन्। जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सो गिरोहका तीन जना र एक प्रहरीलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।घटनामा संलग्न बिनु र इटहरीका दर्शन पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएपनि उनीहरु फरार छन्। स्रोतका अनुसार उच्च प्रहरी अधिकारी र गृहका केही अधिकारी अझै पनि बिनुलाई जोगाउने प्रयासमा छन्।
सो घटनामा मुछिएका एसपी कमल थापा पनि अनुसन्धान प्रभावित बनाउने प्रयासमा छन्। सरकारी वकिलले उनको समेत बयान गराउन भनेपछि प्रहरीले आनाकानी गरेको छ। निष्पक्ष अनुसन्धान हुन सकेमा यो घटनामा एसपी थापा समेत प्रतिवादी बन्ने अवस्था छ। उनकै योजनाअनुसार इटहरीका व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखिएको पुष्टि भइसकेको छ।
एसपी र इन्सपेक्टरलाई जोगाउन भइरहेको चलखेलले प्रहरीले अपराधमा लागेका आफ्ना कर्मचारीलाई जोगाउँछ भन्ने सन्देश गएको छ। जसकारण प्रहरीमाथि जनआक्रोश बढ्ने जोखिम देखिएको छ।










