खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको नेहुर बालासनमा वरिष्ठ नागरिक कल्याण संगठनद्वारा कानुनी सचेतना कार्यक्रम आयोजना गरिएको छ। गाउँ बस्ती तथा कमानका निमुखा गरीब दु:खी जनताले कानूनी रूपमा पूर्ण रूपमा सहयोग प्राप्त गरोस् साथै गरीब दु:खीको निम्ति के कस्ता कानूनी प्रावधानहरु रहेको छ सो बारेमा जनतालाई जागरुक गराउन केही महिना अघि मात्र सङ्ठित वरिष्ठ नागरिकहरुको एक समूह वरिष्ठ नागरिक संगठन नेहुर बालासनका सदस्यहरुले आफ्नो संगठनको पहिलो कार्य जनचेतनामूलक कार्यक्रम यहाँको नेहुर बालासन प्राथमिक पाठशाला भवनमा सम्पन्न गरेको छ। एसके चामलिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि वयोवृद्ध साहित्यकार एवं समाजसेवी विनोद सागर राई उपस्थित रहेका थिए। दार्जिलिङ जिल्ला कानूनी सेवा प्राधिकरणको सहयोगमा कानूनी सचेतना एवं कानूनी साक्षरता शिविरको आयोजना गरियो। उक्त शिविरमा मुख्य रूपमा जिल्ला कानून प्राधिकरणका मुख्य सचिव एवं सिनियर न्यायाधीश छिरिङ यान्छेन लेप्चा, प्यारा लिगल भोलेण्टर (पीएलभी) निमा लह्मु लामा अनि पीएलभी मणिका दियालीको उपस्थिति रहेको थियो। शिविरमा जातिगत प्रमाणपत्र प्रोभिडेण्ट फण्ड, पोक्सो कानुन विषय कानूनी कुराहरु, बाल बिवाह रोकथाम साथै कुनै पनि कानूनी झमेलामा के कस्ता प्रकारले गरीब दु:खी, महिला अनि बालबालिकाहरुले कानूनको सहायता पाउने गर्दछ, कहाँ गएर कस्तो वकील खडा गर्न सकिन्छ आफ्नो हक र अधिकारको निम्ति जिल्ला न्यायलयले साधारणभन्दा साधारण नागरिकको निम्ति पनि मुद्दा लड्दा के कस्ता सुविधाहरु प्रदान गराइ दिएको छ सो बारेमा विस्तृत रूपमा मानिसहरुलाई बुझाउने काम गरियो। वरिष्ठ नागरिक संघ नेहुर बालासनका सदस्यहरुमा संघका मुख्य सचिव डीके. देवानले बताउँदै केही महिना अघि मात्र खोलेको नेहुर बालासनका वरिष्ठ नागरिकहरुले अब उसो क्षेत्रमा नैतिक आध्यात्मिक, सामाजिक, सांस्कृतिक आदि जस्ता विभिन्न कुरोहरुलाई ध्यानमा राखेर काम७ गर्नेछ भन्दै वर्तमान समयमा युवा पिढीहरुमा नशालु पदार्थको ज्यादा सेवन, बेच बिखन आदि जस्ता कुतत्वहरुलाई पनि अंकुश लगाउने अनि सभ्य समाजको सृजना गर्ने जसमा गाउँ समाजका सम्पूर्ण सदस्यहरुले यस कार्यमा सहयोग गरिदिने उनले अपिल गरेका छन्। कार्यक्रमको सञ्चालन अशोक गुरुङले गरेका थिए।