सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत भक्तिनगर थानाले लागुऔषध विरोधी अभियानमा ठूलो सफलता हात पारेको छ। गोप्य सूचनाको आधारमा सिलगढी भक्तिनगर थानाको सादा पोशाकको पुलिसले छापा मारेर प्रतिबन्धित कप सिरप र ब्राउन सुगर बरामद गरेको छ। मंगलबार राति गोप्य सूचनाको आधारमा पुलिसले सिलगढीको सेभोक रोडमा रहेको पीसी मित्तल बस टर्मिनल क्षेत्रमा छापा मारेको थियो। सो कारवाहीमा पुलिसले २५ वर्षीय तुफान रोय नाम गरेका युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको घर सिलगढी नगरपालिकाको वार्ड नम्बर ४३ को दादाभाई कालोनी क्षेत्रमा रहेको छ। युवकको साथबाट २७ बोतल कप सिरप र २८ ग्राम ब्राउन सुगर बरामद भएको छ। अभियुक्तले ब्राउन सुगर र कफ सिरप कहाँबाट संकलन गरेका थिए भक्तिनगर पुलिस चौकीले अनुसन्धान शुरु गरेको छ। आरोपीलाई बुधबार जलपाईगढी अदालतमा पेश गरिनेछ।