हिल तराई प्राथमिक शिक्षक एसोसिएशन केन्द्रीय समितिको साधारण सभा सम्पन्न

सोनादा: हिल तराई प्राथमिक शिक्षक एसोसिएशन केन्द्रीय समितिको साधारण सभा रङबुलस्थित बंगलाडाँड़ा सार्वजनिक भवनमा सम्पन्न भयो। एसोसिएशनकै केन्द्रीय समिति सभापति प्रकाश सुब्बाको सभापतित्वमा सम्पन्न सभा शिक्षकहरूका हितका विभिन्न मुद्दाहरूमाथि चर्चा परिचर्चा गरियो। यो वर्ष शिक्षक दिवस जीटीएको शिक्षा विभागले धुमधामले मनाउने तय भएको छ। जुन कार्यक्रममा जीटीएका कार्यकारी अध्यक्ष लगायत शिक्षा विभागीय सभासद तथा अधिकारीहरू उपस्थित रहनेछन्‌। शिक्षक दिवस-2022 लाई हिल तराई प्राथमिक शिक्षक एसोसिएशनले सफल पार्न लागिपर्ने सभामा बताइएको छ। सेवानिवृत्त शिक्षक शिक्षिकाहरूलाई सम्बर्द्धना गर्ने लगायत जीटीए क्षेत्रबाट सर्वोत्कृष्ट शिक्षकलाई स्वर्ण कमल लाइफटाइम एचिभमेन्ट पुरस्कार प्रदान गर्ने, उत्कृष्ट पाठशालालाई पुरस्कृत गरिने जस्ता महत्वपूर्ण विषयहरूमाथि व्यापक रूपमा छलफल गरियो। एसोसिएशनका केन्द्रीय समिति महासचिव शैलेषचन्द्र छेत्रीले सञ्चालन गरेका सभामा जीटीए क्षेत्रका १६ वटा सर्कलका पदाधिकारीहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए। आजका सभामा महासचिव शैलेष छेत्रीले गत २४ अगस्तमा जीटीएका कार्यकारी अध्यक्ष अनित थापासंग शिक्षा विषयका चर्चा गरिएको बारेमा विस्तृत रूपमा सभालाई अवगत गराएका थिए। यसमा २०१३ सालमा नियुक्ति पाएका शिक्षक-शिक्षिकाहरूका लम्बित माग नोसनल बेनिफिट, लगायत अन्य ज्वलन्त समस्याहरूबारे बताएका थिए। आजको सभामा कालेबुङ जिल्ला हिल-तराई प्राथमिक शिक्षक एसोशिएशन महासचिव रूपममणि प्रधान, अध्यक्ष एमके राणा, शिशिर राई, मुन्ना पाखरिन, सोनाम काबो, नोमी लेप्चा लगायत विभिन्न क्षेत्र समितिका पदाधिकारीहरू उपस्थित थिए भनी हिल तराई प्राथमिक शिक्षक एसोसिएशनको केन्द्रीय प्रचार प्रसार सचिव प्रकाश हाङखिमले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement