मोरङमा महिला र पुरुष मृत भेटिए

IMG-20241018-WA0169

बिराटनगर: मोरङका अलगअलग स्थानमा बुधबार बिहान र मंगलबार साँझ दुई जना मृत फेला परेका छन्। विराटनगरमा एक पुरुष र कानेपोखरीमा एक जना महिला मृत फेला परेका हुन्।
विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार बिहान ७ः३० बजेतिर मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुलेको छैन।
सडक छेउमा मृत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। मृत फेला परेका पुरुष केही समयदेखि विराटनगर बजार क्षेत्रमा मागीखाइ हिँड्ने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्।
कानुनी प्रक्रिया पूरा गरी शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको डीएसपी जोशीले बताए। मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए।
त्यस्तै, कानेपोखरी गाउँपालिका-४ हात्तीडुब्बामा एक जना महिला मंगलबार साँझ आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन्। नीरकुमार राईकी पत्नी ५१ वर्षीया शान्ता राई ओछ्यानमा मृत फेला परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए।
उनका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा साँझ ५ः५० बजेतिर महिलालाई मृत फेला पारिएको हो। घटनास्थल सुरक्षित राखिएको छ।बाहिर रहेकी मृतककी छोरी आइसकेपछि शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिने जानकारी दाहालले दिए। महिलाको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement