काठमांडू: नेपालले आईसीसी विश्वकप लिग -२ मा ८ महिनापछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ। यसअघि नेपालले खेलेका ९ मध्य एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टीयु क्रिकेट मैदानमा थियो।
१५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा आरिफ शेखले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५० रनको अविजित इनिङ खेले। गुलशन झा ३० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे।
ओपनर अनिल साह १३, आसिफ शेख २१, कुशल मल्ल ७, कुशल भुर्तेल २५ र रोहित कुमार पौडेल १ रनमा आउट भए।
स्कटल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अल आउट भयो। मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाएका थिए।