काठमांडू: गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताएका छन। मङ्गलवार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताउछन। उनले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना गर्न लागिएको बताए। उनले हाल स्थापनारत बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र सङ्गठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको जानकारी गराए। उनले दीक्षित प्रहरीहरूलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमानदारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गरे। उनले सशस्त्र प्रहरी बल नेपालको कानुन परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यावसायिक बनाउने विश्वास व्यक्त गरे। उनले भने- ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ। यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना, मौज्दुदा बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र सङ्गठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ। राष्ट्रिय सुरक्षाभित्र पर्ने सबै जिम्मेवारीहरू हाम्रा साझा जिम्मेवारीहरू हुन्। हाम्रो जिम्मेवारीबाट राज्यका हरेक नागरिकमा सुरक्षाको प्रत्याभूति भए मात्र हाम्रो अस्तित्व र परिचालनको अर्थ हुन्छ। आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमानदारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाउनु। सदाचारयुक्त, योग्य, सकारात्मक सोच र मानसिकता भएको दक्ष र इमानदार अधिकृतको रूपमा राष्ट्र सेवाको आगामी यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। कानुन परिवर्तन गरेर नयाँ कानुन निर्माणको प्रक्रिया अगाडी बढाउन लागेको छौँ। यसले थप सबल, सक्षम र व्यावसायिक बनाउने छ यो कानुनले भन्ने विश्वास छ।’ उनले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टीकृत बनाइने भन्दै राष्ट्र सेवामा जोस र ऊर्जाका साथ लाग्न निर्देशन दिए।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




