भैरहवा: रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडानको खबरले त्यहाँको निजी क्षेत्र उत्साहित बनेको छ। यस विमास्थलबाट केही महिना अन्तर्राष्ट्रिय उडान सञ्चालनपछि बन्द भएका थिए। स्थानीय उद्यमी, व्यवसायीको दबाब र विमानस्थल व्यवस्थापनको पहलपछि यसै महिनाबाट दुई वटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान सुरु गर्दै छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन अहिले उडान तयारीको अन्तिम चरणमा छ। आगामी नोभेम्बर ९ र १० तारिखबाट दुबईको फ्लाई दुबई र कुवेतको जजिरा एयरलाइन्सले उडान भर्ने पक्का भएको छ। दुवै एयरलाइन्सले अहिले बुकिङ खुला गरिसकेका छन्।
यहाँबाट दैनिक उडान तालिका बनाएको फ्लाई दुबईले बुकिङ खुला गरिसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।उक्त एयरलाइन्सले नोभेम्बर १० बाट दैनिक उडान गर्नेछ। उक्त कम्पनीका जहाज प्रत्येक दिन दिउँसो एक बजेर ४५ मिनेटमा भैरहवामा अवतरण गर्नेछन्। दुई बजेर ४५ मिनेटमा यहाँबाट उडान गर्ने भएको छ।
भैरहवामा सबैभन्दा पहिले अन्तर्राष्ट्रिय उडान थालेको कुवेतको जजिरा एयरलाइन्सले पनि बुकिङ खुला गरिसकेको छ। नोभम्बर ९ बाट सातामा तीन दिन उडान तालिका बनाएको जजिर एयरलाइन्सको जहाज बिहान ७ बजेटर ४५ मिनेटमा भैरहवामा अवतरण गर्नेछ। मंगलबार, बिहीबार र शनिबार उडान गर्ने जहाज भैरहवाबाट यात्रु लिएर बिहान साढे ८ बजे फर्किनेछ। यी दुईबाहेक थाइल्यान्डमा मुख्यालय रहेको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलबाट उडान भर्नेबारे अध्ययन गरिरहेको बतान्छ।
भैरहवाबाट उडान भर्न पाए नागरिकलाई सस्तो पर्ने, घरपाई सुविधा लिन पाए नागरिकलाई सहज हुनेछ। अन्तर्राष्ट्रिय उडानले बाहिरी बजारलाई गतिशील बनाउने र करोडौं लगानी गरेका व्यवसायीले समेत व्यापार गर्न पाउने भएकाले संरचनागत रूपमा तयार विमानस्थल सञ्चालन हुनुपर्ने देखिन्छ। सरकारले पनि विभिन्न सहुलियतका निर्णय गरेकाले यात्रु भैरहवाबाट उड्ने र आदत बस्ने तिवारीले बताए। विमानस्थलभित्र सबै खालका काम हुने गरी सुविधा रहेको र केही खाडी देशका लागि आवश्यक पर्ने स्वास्थ्य जाँचको काम नहुने भएकाले त्यसका लागि समेत पहल थालिएको बताए।
विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने भएपछि आफूहरू खुसी भएको सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर नेपालका निर्वतमान अध्यक्ष सञ्जय बजिमयले बताए।अन्तर्राष्ट्रिय उडानबाट लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेको उहाँको भनाइ छ।
आन्तरिक तथा बाह्य पर्यटकीय सम्भावना प्रवर्द्धनका लागि र युरोपियनलगायत खाडी देशका लागि पनि हुने गरी अन्य ठूला विमानसँग समयतालिका मिलाएर उडान गर्ने पक्का भए त्यसबाट केही राहत हुन सक्नेछ। जसरी भए पनि प्रत्यक्ष यहाँको उडान हुनुपर्ने आफूहरूको चाहना रहेको बजिमयको भनाइ छ।
आर्थिक क्षेत्र सोचेजस्तो चलायमान हुन नसकेको अवस्थामा विमानस्थल सञ्चालनपछि पर्यटन व्यवसाय उकासिन सक्ने सिद्धार्थ होटल एसोसिएसनका महासचिव इन्द्रलाल न्यौपाने (महेन्द्र) ले बताए।विमानस्थल सञ्चालनपछि बुद्ध सर्किट अवलोकन र अध्ययनका लागि पर्यटक लुम्बिनी आउने विश्वास छ। त्यसले लुम्बिनीसँगसँगै अन्य बुद्धस्थल घुम्ने र पर्यटकले बसाइ लम्बाउने जनाए।अहिले वार्षिक ६० हजार पर्यटक एक रातका लागि होटलमा बसेको अबस्थामा त्यस बसाइबाट आर्थिक स्रोत वृद्धि हुनेबित्तिकै देशमा समृद्धि छाउन सक्ने निश्चित छ।