गान्तोक: आगामी १३ नोभेम्बरमा सम्पन्न हुने सिक्किम विधानसभाको दुईवटा निर्वाचन क्षेत्रको उपचुनाउको निम्ति आज उम्मेदवारहरूको नामाङकन पत्र जाँच गरियो। जाँचको क्रममा सिटीजन एक्सन पार्टीका उम्मेदवार महेश राई र एसडीएफ पार्टीकी डमी उम्मेदवार योजना राईको नामाङकन पत्र रद्द गरिएको छ। नाम्ची जिल्लाका जिल्लापाल एवम रिटर्निङ अधिकारी, सम्वन्धित विभागका अधिकारी र उम्मेदवारहरूको उपस्थितिमा सम्पन्न भएको जाँचमा एसडीएफ पार्टीका उम्मेदवार डानियल राई र एसकेएम पार्टीका उम्मेदवार सतिश चन्द्र राईको नामाङकन पत्रलाई बैद्द मान्दै स्वीकृत गरियो। तर सिटीजन एक्सन पार्टीका उम्मेदावर महेश राईको प्रस्तावक संख्यामा नपुगेकाले अस्वीकृत गरिएको हो। यसबाहेक, वैकल्पिक उम्मेदवारको रूपमा नामाङकन पत्र बुझाएकी योजना राईको नामाङकन पत्रमा केही त्रुटि भेटिएपछि रद्द गरिएको बताएको छ। यसरी नै सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको उपचुनाउको निम्ति उम्मेदवारकोरूपमा नामाङकन पत्र बुझाएका पोबिन हाङ सुब्बाको नामाङकन पत्र रद्द गरिएको छ। अब सो क्षेत्रमा एसकेएम पार्टीका उम्मेदवार आदित्य गोले र एसडीएफ पार्टीका उम्मेदवार प्रेमबहादुर भण्डारीबीच प्रतिष्पर्धा हुने भएको छ। नाम्ची जिल्लाकी रिटर्निङ अधिकारीले उम्मेदवारहरूलाई उपचुनाउ शान्तिरपूर्ण ढङ्गमा सम्पन्न गराउँदै एक उदाहरण प्रस्तुत गर्नुपर्ने सुझाउ दिएकी छन्।









