खोपरेल लालीगुराँस च्याम्पियन
खरसाङ: खरसाङ खण्ड अन्तर्गत मेरियनबारी चिया कमानको खेल मैदानमा मेरियनबारी रिक्रेशन क्लब (एमबीआरसी) को तत्वाधानमा नक् आउट फुटबल टुर्नामेण्टको फाइनल खेल सम्पन्न भयो। त्यस फाइनल खेलमा खोपरेल लाली गुराँस दलले मोहरगाउँ चिया कमानलाई ३ गोलले पराजित गरेर प्रतियोगिताको च्याम्पियन बनेको छ। सन् १९६४ मा स्थापित एमबीआरसी क्लबले धेरै वर्षपछि यस वर्ष फुटबल टुर्नामेण्टको आयोजन गरेको थियो। युवाहरूमा खेलप्रति प्रोत्साहित गर्नुको निम्ति जीटीए मुख्य कार्यपाल अनित थापाले पनि यस टुर्नामेण्टको आयोजनमा आर्थिक सहायता गरेका थिए भने क्षेत्रीय सभासद कल्पना प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिइन्।मेरियनबारी चिया कमानका प्रबन्धक राजा झा अनि पञ्चायत सदस्य सन्दीप सार्की, दिनेश थापा, जमुना छेत्री तथा रोमा दर्जी विशिष्ट अतिथिको रूप उपस्थित थिए। मेरियनबारी रिक्रेशन क्लब को पुनर्गठित कमिटीको अध्यक्ष नकूल विश्वले अनित थापा अनि कल्पना प्रधानप्रति खेल आयोजनमा आर्थिक सहयोग पुऱ्याइदिएकोमा आभार प्रकट गर्दै क्लबका अन्य शीर्ष सदस्यहरू सत्य बड़ाईक, बिनोद प्रधान, बसन्त गुरूङ, बिमल सुब्बा, काजी छेत्री तथा अन्यलाई उनीहरूको सहयोगको निम्ति धन्यवाद दिए। क्लबका सचिव दुर्गा छेत्रीले मेरियन बारी चिया कमानका श्रमिकहरूलाई पनि यस टुर्नामेण्टमा चन्दा दिएर सहयोग पुऱ्याएकोमा आभार प्रकट गरेका छन्।









