गान्तोक: आएपछि विशेष गरेर स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकता दिँदै काम गरिरहेको छ।स्वास्थ्यको क्षेत्रमा गुणस्तरीयरूपमा सुधार ल्याउनको निम्ति सरकारले रोगीहरूको निम्ति विभिन्न प्रकारको सुविदा उपलब्ध गराएको छ, जसको कारण हिजो र आज दुई दिनमा एसटीएनएम अस्पतालमा मुटुका समस्या भएका २५ जना रोगीहरूको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेलले पत्रकारहरूलाई बताए। उनले थप जानकारी गराए अनुसार दिल्लीको बीएलके म्याक्स सुपर स्पेसियालिटी ह्दयरोग विशेषज्ञ डा. अभिनाष एमडीको सहयोगमा हिजोदेखि आजसम्म दुई दिनमा धेरै वर्षदेखि हृदयरोगले ग्रसित रोगीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो। विशेष गरेर राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले राज्य सरकारको तर्फबाट हुन सक्ने र गर्न सक्ने सबै प्रकारको सहयोग प्रदान गरेपछि यति धेरै रोगीहरूको शल्यक्रिया गर्न सक्षम बनेको जानकारी गराए। उनको भनाइ अनुसार यहाँ मुटु रोगीहरूको इलेक्ट्रोफिजियोलजी स्टडीज र रेडियो फ्रिक्वेन्सी एबालेसनको माध्यमद्वारा शल्यक्रिया गरिएको हो भने यो उपकरणको माध्यमद्वारा शल्यक्रिया गर्ने अनुभवी चिकित्सकहरू उत्तरपूर्वी राज्यहरूमा छैनन्। यदि यो रोगको शल्यक्रिया निजी अस्पतालमा गरिनु हो भने सातलाखसम्म खर्च लाग्ने बताए। हिजो र आज शल्यक्रिय़ा गरेका मुटुका रोगीहरू सिक्किमको मात्र नभएर छिमेकी राज्यको दार्जीलिङ,कालेबुङ र अन्य स्थानहरूका पनि सामेल रहेका छन्। उनको भनाइ अनुसार वास्तवमा नै राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा सञ्चालन भएको सरकारले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आइरहेको छ। यसरी निशुल्क चिकित्सा सेवा पाउनु राज्यका मानिसहरू भाग्यमानी रहेको बताए। यति धेरै खर्च गर्न सबैले नकस्ने भएकोले सरकारले स्थानीयहरूको समस्यालाई ध्यानमा राख्दै दुई दिवसीय शल्यक्रिया शिविरको आयोजना गरेको मन्त्री ढुङ्गेलले पत्रकारहरूलाई जानकारी गराए।
यसै क्रममा डा. डीपी राईले जानकारी गराए अनुसार यस दुई दिवसीय शल्यक्रिया शिविरको निम्ति स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेलसँग उनले सल्लाह गरेका थिए भने मन्त्रीले पनि यस कुरालाई गम्भीरतापूर्वक लिँदै यो प्रस्ताव मुख्यमन्त्री समक्ष पुऱ्याए। मुख्यमन्त्रीले उक्त प्रस्तावलाई सहज स्वीकार गर्दै दुई दिवसी शल्यक्रिया शिविर आयोजनाको निम्ति सबै खर्च उठाउने बचन दिएपछि यसको प्रक्रिया अघि बढाएको बताए। उनको भनाइ अनुसार सिक्किम सरकारको स्वास्थ्य प्रतिको सोचाईको कारणले यस प्रकारको शिविर आयोजना गर्न सफल बनेको हो। यस भन्दा अघि पनि यसै अस्पतालमा एक सय जनाको मुटु रोगीहरूको शल्यक्रिया गरिसकेको छ भने आगामी दिनमा यस प्रकारको शिविर आयोजना गर्ने सोंच आफूमा रहेको बताए। उनको भनाइ अनुसार डा. अभिनाष देशको विभिन्न राज्यहरूमा सात पल्ट यस प्रकारको शिविर आयोजना गरेर शल्यक्रिया गरिसकेका छन्। विशेष गरेर मुटुको रोग पहाडका मानिसहरूमा अधिक भेटिने गरेको र यसलाई शीघ्र चिन्हित गरेर शल्यक्रिया गर्न सकेमा रोगीहरूले नयाँ जिवन पाउन सक्ने बताए। मुख्यमन्त्री प्रेम सिंह तामाङले आफूमाथि विश्वास गरेको कारण यस प्रकारको कार्य आयोजना गर्न सफल बनेको दावी गरे। उनले डा. अभिनाश बर्मालाई वर्षमा एक पल्ट सिक्किम राज्यमा आएर यस प्रकारको सहयोग पुऱ्याउने आग्रह गरेको बताए। यसरी नै दार्जीलिङ र सिक्किमका मुटु रोगका रोगीहरूले सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएकोमा सर्वप्रथम डा. डीपी राई, मुख्यमन्त्री प्रेम सिंह तामाङ र स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेललाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्। दार्जीलिङका एक रोगीले बताए अनुसार यदि यस प्रकारको सुविधा पश्चिम बंगालमा पनि भएको भए त्यहाँका मानिसहरू बाहिर जानु पर्ने आवश्यकता नपर्ने बताए। तर सिक्किममा आफूले यति ठूलो रोगको शल्यक्रिया निःशुल्क गर्न पाउँनु आफ्नो अहोभाग्य रहेको बताए। एसटीएनएम अस्पतालका नर्सेस,डाक्टर लगायत सबैले राम्रो व्यवहार गरेकोमा उनीहरूले खुशी प्रकट गर्दै राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ प्रति विशेष आभार प्रकट गरेका छन्।