मंगपू: मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४-मा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले फाइनलमा स्थान पक्का गऱ्यो। मंगपू खेल मैदानमा आइतवार भएको दोस्रो सेमिफाइनल म्याचमा यूकेएफसी-ले झापा इलेवेन (नेपाल)-विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। म्याचको पहिलो हाफमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि दोस्रो हाफको खेलमा सौरभ (पासांग दोर्जी) तामाङले उत्कृष्ट प्रदर्शन गर्दै यूकेएफसी-लाई जीत दिलाए। सौरभले म्याचको ७०औं र ९०औं मिनटमा गोल गरे। सौरभलाई प्लेयर अव् द म्याच चयन गरियो। अब ६ नोभेम्बरमा खेलिने दोस्रो फाइनलमा यूकेएफसी र सिक्किमको हिमालयन स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा कोषाध्यक्ष सुदर्शन तामाङले जानकारी दिएका छन्।