गान्तोक: सोरेङ-च्याखुङ समष्टिका सिटिजन एक्सन पार्टीका उम्मेदवारका प्रस्तावकहरूलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले अपहरण गरेको जुन आरोप लगाएको छ त्यो झूटो र हास्यास्पद रहेको एसकेएम पार्टीले बताएको छ। चुनावको प्रजातान्त्रिक परिपाटी र नियमलाई सर्वोपरि मान्ने एसकेएम पार्टीले कसैलाई अपहरण गर्ने विचार समेत राख्न सक्दैन भने जनाधार नै नभएको अनि गत आम चुनावमा केवल 6 प्रतिशत मत प्राप्त गरेको सीएपीले जनताको ध्यान आकृष्ट गर्ने उद्देश्यमा जनतालाई भ्रमित पार्ने अनैतिक काम गरेको आरोप लगाएको छ। सिक्किम क्रान्तिकारी मोर्चा पार्टी यस्ता अनर्गल आरोपहरूलाई सरासर खण्डन गर्दछ। सिटिजन एक्सन पार्टीले चुनाव जित्नसक्ने क्षमता नरहेपछि केही चर्चा बटुल्न यस प्रकारको आरोप लगाएको उल्लेख गरिएको छ।
गत चुनावमा एसकेएम पार्टीका उम्मेद्वार पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले १० हजारभन्दा धेरै मतका साथ विजय प्राप्त गरेको ठाउँमा एसकेएमलाई यो उप चुनाव जित्न कसैलाई अपहरण गरिरहनु आवश्यकता नै छैन अनि एसकेएम पार्टीले यस्तो घृणित काम गरेर चुनाव जित्ने प्रयास कहिले नगर्ने दावी गरिएकोछ। उप-चुनावमा गत चुनावको जति पनि मत आफ्नो पक्षमा नपर्ने देखेपछि यसरी जनतामा भ्रम फैलाउनु र जनतालाई अल्मल्याउनु अपराध हो भन्ने सीएपीले हेक्का राख्नु पर्ने आग्रह गरेको छ। यसरी बेहोशी कुरा गर्ने पार्टीलाई जनताले अघिबाटै अस्वीकार गरिसकेका छन् र कहिल्यै पनि विश्वास गर्न नसक्ने पार्टीका प्रवक्ता सञ्जय दिलपाली राईद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।