लोकसभा सांसद सुब्बा खाद्य प्रशोधन मन्त्रालय परामर्श समितिमा मनोनित

IMG-20241026-WA0286

गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बालाई केन्द्रिय खाद्य प्रसंस्करण उद्योग मन्त्रालयको परामर्शदाता समितिको सदस्य नियुक्त गरिएको छ। देशको खाद्य प्रसंस्करण क्षेत्रको रणनीतिक उन्नतिमा योगदान पुऱ्याउन आफूलाई सदस्यको रूपमा नियुक्त गरिएकोमा सांसद डा. सुब्बाले माननीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा लोकसभा अध्यक्ष ओम बिरलाप्रति आभार व्यक्त गरेका छन्। डा. सुब्बाले आफूलाई सेवा गर्नका लागि यो अवसर प्रदान गरिनु आफ्नो निम्ति सम्मान तथा जिम्मेवारीपूर्ण रहेको बताएका छन्। उनले भनेका छन्, “कृषकहरूको उत्थान र उन्नति, ग्रामीण अर्थव्यवस्थालाई बलियो बनाउने अनि देशको कृषि मूल्य शृङ्खलालाई विस्तार गर्ने यस्ता नीतिहरूलाई अघि बढ़ाउन म प्रतिबद्ध छु। खाद्य प्रसंस्करणले आत्मनिर्भर भारतको लक्ष्यलाई साकार पार्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ र आफ्ना सहयोगी मित्र सदस्यहरूसँग मिलेर सार्थक योगदान दिन बचनबद्ध छु।” यस समितिमा सांसद डा. इन्द्रहाङ सुब्बाको नियुक्तिले खाद्य प्रसंस्करण उद्योगभित्रका चुनौतीहरूलाई समाधान गर्ने र अवसरहरूको दोहन गर्नतर्फ उनको समर्पणलाई दर्शाउँदछ। डा. सुब्बाको प्रतिबद्धता समृद्ध तथा आत्मनिर्भर कृषि अर्थव्यवस्था बनाउने देशको दृष्टिकोण अनुरुप छ। स्मरण रहोस्, सांसद डा. इन्द्रहाङ सुब्बा यसभन्दा अघि अप्रेल २०२४ मा लोकसभा अध्यक्ष ओम बिरलाले आकलन समितिका सदस्यको रूपमा मनोनित गरेका थिए। यसैगरी सांसद डा सुब्बालाई केन्द्र सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण समिति-२०२४-२५ को निम्ति लोकसभा तथा राज्यसभा सांसदहरूको समितिमा सदस्यको रूपमा चयन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement