दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले सेमिफाइनलमा स्थान बनायो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा शनिवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा कञ्चनजंघा फूटबल क्लबले राजगञ्ज वेलफेयर एसोसिएशनविरुद्ध पेनल्टी शूटआउटमा ७-६-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा केएफसी-बाट सन्दीप लिम्बुले ४१औं र अनिश राईले ४५औं मिनटमा गोल गरे। यसरी राजगञ्जको टीमबाट रोहित भुजेलले ५०औं र जय हरि बर्मनले ६८औं मिनटमा गोल गरे। केएफसी-का गोलकीपर राहुल माहतोलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच ३० र ३१ अक्टोबरमा हुनेछ। यसरी फाइनल ५ नोभेम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबको पक्षमा बिनोद छेत्रीले बताएका छन्।