बिराट चौक: मोरंगको बेलबारीमा भएको ७औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको च्याम्पियन झापा ११ फुटबल क्लब भएको छ।
एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनल खेलमा झापले पाहुना टोली सिराहाको सलहेस फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो।
खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा गएको थियो।टाइब्रेकरमा झापाले सिराहालाई ५-३ गोल अन्तर हराउँदै उपाधि जित्यो।जितसँगै झापाले ८ लाख रुपैयाँ, उपविजेता सिराहाले ४ लाख रुपैयाँका साथ ट्रफी प्राप्त गरयो।
झापाका दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे भने सिराहाका राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए।समिर तामाङको प्रहारलाई झापाका गोलरक्षक सन्दीप लिम्बूले बचाए।
खेल मध्यान्तरअघि दुवै टोली गोलरहित बराबरीमा खेलका थिए।५० औं मिनेटमा सिराहाका अजयी मार्टिनले हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ७१औं मिनेटमा झापाका प्रदीप बुढाथोकी गोल गर्दै खेललाई बराबरीमा ल्याए।खेलको प्लेयर अफ द म्याच झापाका अभिषेक गुरुङले ५ हजार र ट्रफी प्राप्त गरे।
त्यस्तै, झापाका सन्दीप लिम्बू उत्कृष्ठ गोलरक्षक, उत्सव राई उत्कृष्ठ मिड फिल्डर, सन्तोष गुरुङ उत्कृष्ठ कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए।तामाङले १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे।उपाधि सिराहाका अजयी मार्टिनले सर्वाधिक गोलकर्ता, समिर तामाङले उत्कृष्ठ फरर्वाड हुँदै जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे।
खेलाडीहरुलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, लगायतले पुरस्कार प्रदान गरे।