पुणे: भारतले दोस्रो क्रिकेट टेस्ट म्याचमा न्यूजील्याण्डविरुद्ध ११३ रनले निराशाजनक हारको सामना गर्नु पऱ्यो। यस हारले भारतको वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनल खेल्ने तयारीलाई ठूलो झट्का लाग्यो। दोस्रो टेस्टमा जीतको साथै न्यूजील्याण्डले ३ वटा टेस्ट म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। यो न्यूजील्याण्डको भारतमा पहिलो टेस्ट सीरीज जीत हो। यसरी भारतले आफ्नो घरेलु मैदानमा रेकर्ड ४३०२ दिनपछि टेस्ट सीरीज गुमायो। घरेलु मैदानमा भारतले यसअघि अन्तिमपल्ट २०१२-मा ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीज गुमाएको थियो। भारतले यसअघि बेंगलुरुमा खेलिएको पहिलो टेस्ट म्याचमा पनि ८ विकेटले हारको सामना गर्नु परेको थियो। पहिलो टेस्ट म्याचमा झैं पुणेमा पनि भारतलाई विपक्षी स्पिनरहरूले सताए। दोस्रो टेस्टमा भारतले आफ्नो २० विकेटमा १९ विकेट स्पिनरहरूविरुद्ध गुमायो।
म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले आफ्नो पहिलो ईनिंग्समा २५९ रन बनाएको थियो। त्यसपछि भारत १५६ रनमा अलआउट हुँदा न्यूजील्याण्डलाई पहिलो ईनिंग्सको आधारमा १०३ रनको बढ़त हासिल भएको थियो। त्यसपछि शनिवार न्यूजील्याण्डको दोस्रो ईनिंग्स २५५ रनमा समाप्त हुँदा भारतलाई जीतको निम्ति ३५९ रन बनाउने मुश्किल लक्ष्य प्राप्त भएको थियो। लक्ष्यलाई खेदो गर्दै आज भारतको दोस्रो ईनिंग्स केवल २४५ रनमा समाप्त भयो। भारतको दोस्रो ईनिंग्समा ओपनर यशस्वी जयसवालले सर्वाधिक ७७ रन बनाए। उनले ६५ बल खेलेर ९ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक रविन्द्र जडेजाले ४२, शुभमन गिलले २३ र वाशिंगटन सुन्दरले २१ रनको योगदान दिए। कप्तान रोहित शर्मा ८ र विराट कोहली १७ रन बनाएर आउट भए। स्पिन आक्रमणविरुद्ध मुख्य भरोसा रिषभ पन्त खाता नखोली रन आउट भए जबकि सरफराज खानले ९ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा मिचेल सेण्टनरले सर्वाधिक ६ विकेट लिए। यसबाहेक एजाज पटेलले २ र ग्लेन फिलिप्सले १ विकेट लिए। यसअघि आज बिहानको सेशनमा शुक्रवारको स्कोर ५ विकेटमा १९८ रनदेखि अघि खेल्दै न्यूजील्याण्ड आफ्नो दोस्रो ईनिंग्समा २५५ रन बनाएर अलआउट भयो। आज न्यूजील्याण्डले आफ्नो अन्तिम ५ विकेट केवल २४ रनमा गुमायो। न्यूजील्याण्डको दोस्रो ईनिंग्समा कप्तान टम लाथमले सर्वाधिक ८६ रन बनाए। यसबाहेक ग्लेन फिलिप्सले अविजित ४८ र टम ब्लण्डेलले ४१ रन बनाए। भारतीय बलरहरूमा वाशिंगटन सुन्दरले ४ विकेट लिए। यसबाहेक रविन्द्र जडेजाले ३ र रविचन्द्रन अश्विनले २ विकेट हासिल गरे।