सोनादा: सलेसियन कलेज सोनादा, अटोनोमसमा राष्ट्रिय सेवा योजना (एनएसएस) अनि भूतपूर्व विद्यार्थी संगठनको संयुक्त आयोजनामा रक्तदान शिविर आयोजन गरियो। यसका साथै निःशुल्क आँखा जाँच अनि स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरियो। यस अवसरमा विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध गराइयो। विभिन्न रोग सम्बन्धित विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा सहभागीहरूले निःशुल्क स्वास्थ्य जाँचको लाभ उठाए। उक्त शिविरमा स्वास्थ्य जाँचसँगै आवश्यक औषधिहरूसमेत निःशुल्क रूपमा वितरण गरियो। शिविरमा यसका साथै सहभागीहरूले आफ्नो आँखा जाँच गराए भने आँखाको परीक्षण गराई आवश्यक उपचारको सुझाव पाएका थिए। रगतदान शिविरमा लगभग ५१ जनाले रक्तदान गरेका थिए भने २५० जनाले स्वास्थ्य जाँच गराएका थिए। कार्यक्रममा स्थानीय समुदायका सदस्य, विद्यार्थी, शिक्षक साथै भूतपूर्व विद्यार्थीहरूले सहभागिता जनाएका थिए। यस प्रकारको शिविर आयोजनाले स्थानीय स्तरमा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न ठूलो भूमिका खेलेको आयोजक पक्षको भनाइ छ। आयोजकको पक्षमा कलेजका सह प्राध्यापक तथा राष्ट्रिय सेवा योजना (एनएसएस) का कार्यक्रम अधिकारी मनिष शर्माले भने, हामीले यो कार्यक्रम सामाजिक सेवाको एक महत्वपूर्ण पहलको रूपमा आयोजना गरेका हौं। विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वको भावना विकास गर्न र स्थानीय समुदायलाई स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध गराउनु हाम्रो उद्देश्य हो। यस प्रकारको कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याउछ अनि निकट भविष्यमा पनि यस्ता स्वास्थ्य शिविरहरू निरन्तर आयोजना गरिनेछ। उनले कलेजका उप प्राचार्य ब्रदर अगस्टिन जोसेफ अनि केम्पस मिनिस्टर फादर प्रितम बार्ला साथै कलेजका सम्पूर्ण मेनेजमेन्ट टोलीप्रति पनि आभार व्यक्त गरेका छन्।

यस अवधि उनले सुरेन प्रधान महासचिव हिमालयन वेलफेयर अर्गनाइजेशन, सहभागी डाक्टरहरू, औषधि प्रदायकहरूसँगै सम्पूर्ण सहभागीहरूलाइ पनि धन्यवाद दिएका छन्।