मिरिक: मिरिकमा तीन दिवसीय पुष्प प्रदर्शनी शुरू भएको छ। मिरिकमा युवा फूल उत्पादकहरूलाई प्राेत्साहन गर्न आजदेखि तीन दिवसीय पुष्प प्रदर्शनी अनि बिक्री शुरू भएकाे छ। मिरिक फ्लाेरीकल्चर साेसाइटीकाे आयाेजनामा आगामी २७ अक्टोबरसम्म चल्ने उक्त पुष्प प्रदर्शनीकाे उदघाटन मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई अनि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले रिबन काटेर गरेका छन्।मिरिक एक्युरियम परिसरमा शुरू भएकाे पुष्प प्रदर्शनीमा मिरिक फ्लाेरीकल्चर साेसाइटीका अध्यक्ष भीमकुमार राई, सचिव धिरज राई, काेषाध्यक्ष राजेन राई, सदस्यहरू आनन्द राई अनि विराज राईले मिरिक महकुमाकाे अधिकांश ठाउँहरूमा फूल खेती गरिने गरेकाे अनि हाल धेरै युवाहरू फूल खेतीमा लागेर बेराेजगारी समस्या समधान गर्न साथै आर्थिकरूपमा सबल पनि बन्दै गइरहेकाे जसलाई अझ प्राेत्सहान प्रदान गरेर फूल खेतीमा अग्रसर गराउने उद्देश्यले पनि तीन दिवसीय पुष्प प्रदर्शनी गरिएकाे बताए। साेसाइटीका पदाधिकारीहरूले मिरिकमा शुरू भएकाे पुष्प प्रर्दशनीमा मिरिकमा उत्पादित गाेदावरी फूल, अर्ली सिम्बाेडियम अर्किड लगायत अन्य विभिन्न प्रजातिका फूल अनि हाउस प्लान्टहरू प्रदर्शनीमा राखिएकाे बताएका छन्।

यस अवसरमा बाेल्दै मिरिक नगरपालिका अध्यक्ष एलबी राई अनि सभासद मिलेस राईले भाैगाेलिक दृष्टिकोणले मिरिक फूल खेतीकाे लागि उपयुक्त रहेकाे अनि यहाँका धेरै युवाहरू फूल खेतीमा लागेर बेराेजगारी समस्या समाधान गरिरहेकाे बताउँदै यस्ता पुष्प प्रदर्शनीले युवा फूल उत्पादकहरूलाई प्राेत्सहान मिल्ने बताएका छन्। दुवैले यहाँकाे फूल खेतीलाई विकसित गर्न आ आफ्नाे पक्षबाट सहयाेग गर्ने आश्वसन पनि दिएका छन्।