बिराट चौक: मोरङको सुन्दरहरैँचामा तीव्र गतिको टिपरले ठक्कर दिँदा बिहीबार दिउँसो १ जना महिलाको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २८ प ६१३२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दिउँसो ३ः४० बजेतिर दुर्घटना हुँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ।
अन्दाजी ३०/३२ वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार टिपरले ठक्कर दिएपछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो।
अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले दिउँसो ४ः३० बजेतिर मृत घोषित गरिदिएको डीएसपी जोशीले बताए। शवलाई कोशी अस्पतालमै राखिएको छ।
टिपर र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टिपर चालक फरार रहेकाले खोजी जारी राखिएको प्रहरीले जनाएको छ। डीएसपी जोशीले मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।