जीटीएलाई कसरी बलियो बनाउने भन्ने प्रस्तावलाई सर्वसहमतिद्वारा पारित
दार्जीलिङ: आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चौथो सभा सम्पन्न भएको छ। आज बसेको जीटीएको सभाले शक्तिशाली जीटीए गठनार्थ सर्वसहमतिले प्रस्ताव पारित गरेको जानकारी प्राप्त भएको छ। यसलाई थप दिशा प्रदान गर्न निर्वाचित सभासदहरुलाई लिएर समिति गठन गरिने बताइएको छ। सम्झौता अनुसार हस्तान्तरित विभागहरु पूर्णतया जीटीए सभा अन्तर्गत सञ्चालनमा ल्याउने प्रस्तावित समितिले कार्य प्रणाली अघि बढाउने भएको छ। अर्कोतिर आज बसेको सभाले जीटीए अन्तर्गत रहेका दुईवटा पार्किङ प्लाजाहरुको नामकरण भाषा संग्रामी देवराज शर्मा अनि कृष्ण सुब्बाको नाउँमा गरिने प्रस्ताव अनुमोदन गरिएको जीटीए सभा चेयरम्यान अञ्जुल चौहानले बताएका छन्। दार्जिलिङको गोर्खा रङ्गमञ्च भवन सभागृहमा चेयरम्यान अञ्जुल चौहानको सभापतित्वमा सम्पन्न उक्त सभामा जीटीए मुख्य कार्यपाल अनित थापा, डेपुटी चेयरम्यान राजेश चौहान लगायत अन्य सभासदहरुको साथमा प्रतिपक्षी दलका निर्वाचित सभासद अजय एडवार्डस्, निर्दल सभासद विनय तामाङ मुख्य रुपले उपस्थित रहेका थिए। लगभग ३ घण्टा अधिक चलेको उक्त बैठकमा पारित प्रस्ताव लगायत पुरानो प्रस्तावहरुमाथि जानकारी गराउँदै पछिल्लो बैठकहरुबीच पारित प्रस्तावहरुमाथि काम भइरहेको अञ्जुल चौहानले जानकारी गराएका छन्। जीटीएको चेयरम्यान अञ्जुल चौहानले पत्रकारहरूसित कुराकानी गर्दै आजको जीटीए सभा सौहार्दपूर्ण रुपमा राम्रो भएको बताउँदै सभामा सर्वसहमतिद्वारा जीटीएलाई कसरी बलियो बनाउने भन्ने विषयमा प्रस्ताव पारित गरिएको जानकारी गराएका छन्। उनले जीटीएमा विपक्षका नेता अजय एडवर्डले राख्नु भएको चियाबारी र टिस्टाको प्रस्ताव हामी सबैले मानिलिएका छौं किनभने त्यो कुरा जीटीएले पारित गर्नेवाला नै थियो भनी बताएका छन्।

चौहानले कसले प्रस्ताव राखे कसले पारित गरे भन्दा पनि टिस्टा र चियाबारीको समस्या हामी सबैले राम्रोसितले बुझेका छौं र हामीले त्यस कुरालाई सभामा स्वीकार गरेका छौं र यसलाई जीटीए प्रमुख, डेपुटी चिफ् एंव अन्य सबैले मानिलिएको बताएका छन्। उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा जीटीएले टिस्टाको लागि गरिरहेको कार्य र पहलको सबैले सराहना गरेको पनि बताएका छन्।