गान्तोक: सिक्किम विधानसभाका पूर्व अध्यक्ष एवं विधायक एल. बी. दासले मन्त्री परिषद्का सदस्यको रूपमा शपथ ग्रहण गरे। राजभवनस्थित आशीर्वाद भवनमा आज आयोजित शपथ ग्रहण समारोहमा राज्यपाल गंगा प्रसादले विधायक दासलाई पद तथा गोपनीयताको शपथ दिलाए।शपथ ग्रहण समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा अध्यक्ष र उपाध्यक्ष, मन्त्री परिषद्का सदस्यहरू, विधायकगण, लोकसभा सांसद, मुख्य सचिव, विभिन्न विभागीय प्रमुखहरू आदि उपस्थित थिए। शपथ ग्रहण समारोहपछि राज्यपाल, मुख्यमन्त्री लगायत समारोहमा आमन्त्रित सम्पूर्ण अतिथिहरूले मन्त्री दासलाई खदा लगाइदिएर बधाई एवं शुभकामना व्यक्त गरे।पत्रकारहरूसॅंग कुराकानी गर्दै मन्त्री दासले पहिले पनि पार्टीले आफुलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको र अब फेरि अर्को जिम्मेवारी सुम्पेको बताए। उनले आफुलाई सुम्पिएको यो जिम्मेवारी निष्ठाका साथ पुरा गर्ने छु भनी बताए। मन्त्री परिषद फेरबदल विषय गरिएको प्रश्नको जवाफमा उनले यो मुख्यमन्त्रीको अधिकार क्षेत्रभित्र पर्ने विषय रहेको बताए। पार्टी अध्यक्षले कसैको पदभार बद्ली गर्न सक्छन् र पार्टी अध्यक्षको निर्णय अनुरूप यस्तो कदम उठाइएको हो भन्ने उनले आसय व्यक्त गरे। यसैगरी, विभाग विषय गरिएको प्रश्नको जवाफमा उनले यो पनि मुख्यमन्त्रीको अधिकार क्षेत्रभित्र पर्ने विषय रहेको र आफुलाई जुनै विभागको जिम्मेवारी सुम्पिए पनि तयार रहेको बताए।