दोलखा: हिमाल आरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका-९, बेदिङका पर्वतीय पथप्रदर्शक ४५ वर्षीय पासाङकिदर शेर्पाले यहाँको छ हजार १२५ मिटर अग्लो ‘बेदिङ गो’ नामक हिमाल आरोहण गर्ने ‘नर्थ वेस्ट रिच’ नयाँ बाटो पत्ता लगाएका छन्।
तिब्बततिरको ‘सफ्ट फेस’ बाट यो हिमालको थुप्रैले आरोहण गरिसकेका छन् तर ‘नर्थ वेस्ट’ बाट आरोपण गर्ने उनि पहिलो आरोही हुन्। उनि चार रात पाँच दिनमा यो हिमालको चुचुरोमा पुग्न सफल भए।
उनले बर्सेनि शरद ऋतु सुरु भएपछि नयाँ रुट खोज्ने, बाटो बनाउने र नयाँ हिमाल आरोहण गर्दै आएका छन्। उनले हिमाल आरोहण गर्नेलाई अध्यापन गर्ने र आरोहणको तालिम दिने काम पनि गर्छन्।
शरद ऋतुमा हिमाल आरोहण गर्नेको बाक्लो चहलपहल हुन्छ । हिमाल चढ्नेको चर्चा भए पनि हिमाल चढाउने र नयाँ नयाँ हिमाल खोज्दै त्यहाँ पुग्ने बाटो बनाउनेहरू जहिले पनि पर्दा पछाडि हुन्छन्।
१६ वर्षमै हिमाल आरोहणमा ‘किचेन गाइड’ का रूपमा लागेका पासाङ अहिले तालिम प्राप्त अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक हुन्। उनले आठ हजारमाथिका सगरमाथा, मनासलु, केटुलगायतका हिमाल १४ पटक आरोहण गरेका छन्। उनले सात वटा प्रमाणपत्र पाएका छन्। इन्टरनेसनल माउन्टेन गाइडको उपाधि पाउने नेपालमा ७४ जना पथप्रदर्शक छन्।
‘बेदिङ गो’ शिखरबाट तिब्बती उपत्यका नयाँ हिमाताल देखिन्छन्। उनले भने , “ती हिमतालबारे अध्ययन भएको छ/छैन थाहा भएन तर नेपालको तामाकोशीको जलाधार तिनै क्षेत्रमा पर्छ।” उनले हिमाल चढेर रेकर्ड राख्नुभन्दा पनि नयाँ हिमाल खोज्ने र त्यसको रुट बनाउने काममा बढी खटिएको बताए।