सुनसरी: भारतको विहारको दुःख भनेर चिनिने कोशी नदीको वहाव नियन्त्रणमा मुख्य चासो राख्दै आएको भारत सरकारले नेपालमा रहेको कोशी ब्यारेजको ढोकाको नियन्त्रणका लागि डिजिटलाईज गर्ने गरी अध्ययनसँगै काम थालेको छ।
कोशी ब्यारेजको ढोकालाई मर्मत गर्दै रिमोटबाटै खुल्ने गरी काम सुरु भएको र आगामि पाँच छ महिनाभित्र काम सम्पन्न भएपछि ब्यारेजको ढोका रिमोटबाटै सहज रुपमा कुनै अवरोध विना खुल्ने र बन्न हुने कोशी क्षेत्रको भ्रमणमा आएका भारत विहारका प्रधान सचिव सन्तोषकुमार मलनले बताए।
कोशी क्षेत्रको अनुगमनमा आएका विहार सरकारका प्रधान सचिव सन्तोषकुमार मलनले कोशी ब्यारेजबाट ६ लाख ६१ ह्जार क्यूसेक पानी बगेपछि आफूहरु गंभिर भएको बताउँदै ब्यारेजको पुरानो संरचना र पानीको बहावको विषयमा आफूहरुले समिक्षा गरिरहेको जानकारी दिए।
उनले भने, ‘६७ हजार क्यूसेक पानी सप्तकोशी नदीमा सामान्य अवस्थामा जहिले पनि रहिरहन्छ। त्यो क्षमताको मात्रै ब्यारेज अहिले रहिरहेको छ। अब यसलाई मर्मत गरेर आधुनिक प्रविधि यूक्त र बलियो बनाउनु पर्ने आवश्यकता टड्कारो रुपमा देखियो।’
प्रधानसचिव मलनले ६ लाख ६१ ह्जार क्यूसेक पानी हुँदा ब्यारेजका धेरै ढोकाका लकहरु खुल्न नसकेको र एक आपसमा ढोकिएको जानकारी दिदै ब्यारेजको ढोकाका अधिकांश लकहरु ड्यामेज भइसकेकोले अब यसलाई यथास्थितिमा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए।
कोशी क्षेत्रको अनुगमनपछि उनले ब्यारेजको चार-पाँच किलोमिटर दुई तर्फ बालुवा ठूलो हिस्सा जम्मा भएकोले गर्दा ब्यारेजबाट सहज रुपमा पानी बग्न सक्ने स्थिति नरहेकोले यसको प्रत्यक्ष असर ढोकालाई पारिरहेको भन्दै यो क्षेत्रको बालुवा हटाउनु पर्ने आवश्यकता टड्कारो बनेको उनले बताए।
उनले भने, ‘ कोशी ब्यारेजको दुबै तर्फ चार-पाँच किलोमिटरसम्म बालुवाका थुप्रो छ। बालुवको थुप्रो कारण पानीको सहज बहवलाई असर पारिरहेको छ। पटनामा बसेर यो समस्याको विषयमा हामीलाई थाहा हुन सकेको थिएन। यहाँ आएपछि यो कुरा हामीले प्रत्यक्ष महसुस ग¥यौ। ब्यारेजको क्षमता कमजोर बन्दै गईरहेको छ। चार-पाँच किलोमिटर दुबै तर्फको बालुवा सफा गर्नु पर्ने आवश्यकता छ। नक्सामा यो हेरिसक्यो, प्रत्यक्ष पनि अनुगमन गरेका छौ।’
प्रधान सचिवले दुबै तर्फको बालुवा हटाएर कोशीमा आफ्नो क्षमताअनुसारको पानी बग्ने वातावरण निर्माण गर्न तत्काल योजनासहित काम थाल्ने जानकारी दिदै भने, ‘बाढीका कारण कोशी ब्यारोज पुलमा भएको क्षतिलाई ममर्त गर्ने र बालुवा हटाउन विशेष योजना बनाउँछौ। १९६० को दशकमा निर्माण भएको ब्यारेजले अहिलेको बाढी त थेग्यो तर आउने दिनमा थेग्न सक्दैन त्यसले हामी पाँच-छ महिनामा अपडेट गर्छौ। रिमोटबाट खुल्ने र बन्द गर्ने गरी काम सुरु गर्दैछौ। बालुवा हटाउने बाहेकको काम आधुनिक बनाएर लैजान्छौ। पाँच छ महिनामा ब्यारेज नयाँ रुपमा देख्न सक्नु हुन्छ।’
उनले भारत सरकारको संघीय बजेट २०२४ बजेटमा समेत कोशी नदीमा अर्को ब्यारेज बनाउने घोषणा भएकोले त्यसको पनि अध्ययन भइरहेको जानकारी दिए। यद्यपि उनले नयाँ ब्यारेज नेपाल वा भारत कहाँ बन्छ भनेर खुलासा भने गरेनन्।









