असम बन्यो च्याम्पियनशीप
गान्तोक: गत २० अक्टोबरदेखि शुरू भएको चार दिवसीय नर्थ इस्ट टीम चेस प्रतियोगिताको आज समापन भयो। राजधानीस्थित जनता भवनमा सम्पन्न भएको यस प्रतियोगिता विशेष गरेर उत्तरपूर्वी राज्यहरूको निम्ति ध्यान केन्द्रित गर्दै आयोजना गरिएको हो। सिक्किम राज्यले पहिलो पल्ट नर्थ इस्ट टीम चेस प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको हो।
आजको समापन कार्यक्रममा मुख्य अतिथिकोरूपमा साउथ एसिय़न चेस काउन्सिलका अध्यक्ष धर्मेन्द्र कुमार रहेका थिए भने विशिष्ट अतिथिमा अल इण्डिया चेस फेडरेसनका अध्यक्ष नितिन नाराङ रहेका थिए।
पत्रकारहरूसँग कुराकानी गर्दै साउथ एसिय़ान चेस काउन्सिलका अध्यक्ष धर्मेन्द्र कुमारले उत्तरपूर्वी राज्यहरूले छोटो समयमा चेस खेलमा धेरै विकास साथै प्रगति गरेको दावी गरे। उनले नर्थ इस्ट च्याम्पियनशीप सिक्किमबाट शुरू भएको अवगत गराए। सिक्किम चेस एसोसिएसनका अध्यक्ष महेन्द्र ढकालले दुई चार चेस खेलाडीहरूलाई लिएर चेस खेल शुरू गरेका थिए, तर अहिले सिक्किम राज्यबाट धेरै जना चेस खेलाडीहरू जन्मिएको बताए। आगामी दिनमा सिक्किम राज्यले चेस खेलमा धेरै उपलब्धि हासिल गर्न सक्ने उनले सम्भावना व्यक्त गरे। उत्तरपूर्वी राज्यहरू मध्ये सिक्किमले चेस खेलमा धेरै विकास गरेको बताए। वर्तमान परिस्थितिमा सिक्किमसँगै मेघालय राज्यले पनि चेस खेलमा धेरै प्रगति गरेको उनले किटान गरे। हिमाली राज्यमा चेस खेल शुरू गर्न कठीन रहेता पनि सिक्किमले चेस खेलमा रोड मोडल बनेर देशलाई उदाहरण दिएको जानकारी गराए।
सोही प्रकारले सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकालले चार दिवसीय चेस प्रतियोगितामा आसम राज्यले पहिलो, दोस्रो अरूणाचल प्रदेश र तेस्रो स्थानमा मेघालयले ओगटन सफल भएको बताए। प्रथम हुने राज्यलाई दुई लाख, दोस्रोलाई एक लाख पचास हजार र तेस्रोलाई एक लाख प्रदान गरिने बताए। उनले थप जानकारी गराए अनुसार सिक्किम राज्यका प्रमुख खेलाडीहरूले केही कारणवंश प्रतियोगितामा सहभागिता जनाउन नसकेको कारण सिक्किमले कुनै प्रकारको पुरस्कार प्राप्त गर्न सकेन्। आठवटा राज्यहरू मध्ये सिक्किम राज्य छैटो स्थान ओगटन सफल बनेकोमा उनले खुशी प्रकट गरेका छन्।