बंगलादेशमा फेरि चर्कियो आन्दोलन, राष्ट्रपतिलाई हटाउने माग

00-1-Bangladesh-copy

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बर्खास्त गरेपछि अब राष्ट्रपति मोहम्मद शाहबुद्दिनलाई हटाउने माग चर्किएको छ। बंगलादेशी समाचार डेली स्टारका अनुसार राजधानी ढाकास्थित राष्ट्रपति भवन अगाडि हजारौं मानिस भेला भएका छन्। शेख हसिनाको राजीनामाबारे राष्ट्रपतिको भनाइप्रति उनीहरु आक्रोशित भएका छन्। राष्ट्रपति शाहबुद्दीनले आइतबार एक अन्तर्वार्तामा भनेका थिए, “शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको मैले भर्खरै सुनेको छु, तर मसँग उनको राजीनामासँग सम्बन्धित कुनै प्रमाण छैन। मैले उनको राजीनामा लिन धेरै पटक प्रयास गरें तर सायद उनीसँग समय थिएन।” प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदमा बस्ने नैतिक अधिकार गुमाएको बताएका छन्। उनीहरूले राष्ट्रपतिलाई दुई दिनभित्र राजीनामा दिन माग गरेका छन्। प्रदर्शनकारीको भीड उग्र बनेपछि पुलिसले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ। भागदौडमा कम्तीमा पाँच जना घाइते भएका छन्। उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ। प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि कडा कारबाही गरेको पुलिसले जनाएको छ।

ढाका ट्रिब्यूनका अनुसार राष्ट्रपति शाहबुद्दीनको बयानको बढ्दो विरोधलाई देखेर आन्दोलनसँग सम्बन्धित दुई नेता हसनत अब्दुल्ला र सर्जिस आलम मंगलबार राति प्रदर्शनकारीहरूकहाँ पुगेका थिए। उनीहरूले त्यहाँबाट जनतालाई बाहिर निस्कन आग्रह गरे। विद्यार्थी नेताहरूले दुई दिनमा देशमा ठूलो सत्ता परिवर्तन हुने वाचा गरेका छन्। विद्यार्थी नेता हसनतले सेना प्रमुखको उपस्थितिमा राजनीतिक दलहरूसँग वार्ता गरी बिहीबारसम्म राष्ट्रपति बन्नसक्ने व्यक्ति चयन गर्ने बताए। उनले बिहीबारसम्म नयाँ राष्ट्रपति चयन नभए जनतासँगै सडकमा उत्रने बताए। राष्ट्रपतिको भनाइपछि अहिले बंगलादेशमा शेख हसिना संवैधानिक रूपमा बंगलादेशको प्रधानमन्त्री नै छिन् कि छैनन् भन्ने चर्चा बढेको छ। शेख हसिनाले ५ अगस्तमा बंगलादेश छोडेकी थिइन्। उनी भागेर भारत पुगिन्। केही दिनपछि उनका छोरा वाजिद जोयले शेख हसिना अझै पनि बंगलादेशको वास्तविक प्रधानमन्त्री रहेको दाबी गरेका थिए। बंगलादेशको संविधानको धारा ५७ (ए) अनुसार प्रधानमन्त्रीले कुनै पनि बेला राष्ट्रपतिसमक्ष राजीनामा बुझाएमा देशमा प्रधानमन्त्रीको पद रिक्त हुने व्यवस्था छ। अहिले बंगलादेशमा यस विषयमा समस्या छ। राष्ट्रपतिले आफूसँग शेख हसिनाको राजीनामा पत्र नभएको बताउँदै आएका छन्। बंगलादेशमा कानूनमन्त्रीको पद सम्हालिरहेका आसिफ नजरुलले राष्ट्रपतिको भनाइको निन्दा गरेका छन्। उनले राष्ट्रपति प्रष्ट झुट बोलेको बताए। उनले भने, “यदि उनी आफ्नो अडानमा अडिग छन् भने सरकारले उनलाई पदमा राख्नेबारे सोच्नुपर्छ।” बंगलादेशका मुख्य सल्लाहकार मोहम्मद युनुसका उपसचिव अपूर्व जहाँगीरले आसिफ नजरुलको भनाइसँग आफू सहमत भएको बताए। तर, राष्ट्रपति शाहबुद्दिनलाई हटाउन सरकारले अहिलेसम्म कुनै कदम नचालेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement