नेपालले विश्वभरिका नेपालीहरूको भाषा, साहित्य, संस्कृतिको वैश्विक समीट गर्नुपर्छः पवन चामलिङ
गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)का अध्यक्ष पवन चामलिङलाई नेपालको प्रतिष्ठित पद्मश्री साधना सम्मानले सम्मानित गरिएको छ। साहित्य, संस्कृति एवं समाजसेवाको क्षेत्रमा दीर्घ सेवा गरेबापत् नेपालको प्रतिष्ठित खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान-२०६२, रत्ननगर, चितवनले सिक्किमका पूर्व मुख्यमन्त्री, सिक्किम डेमोक्रेटिक फ्रण्ट अध्यक्ष एवं निर्माण प्रकाशनका संस्थापक पवन चामलिङलाई वर्ष २०८० को प्रतिष्ठित `पद्मश्री साधना सम्मान’ –ले विभूषित गरेको छ। २२ अक्टोबरको दिन काठमाण्डौंमा लब्धप्रतिष्ठ बौद्धिक, साहित्य-संस्कृतिकर्मी एवं प्राज्ञहरूको उपस्थितिमा चामलिङलाई उक्त पुरस्कार एवं सम्मानले विभूषित गरिएको हो। पुरस्कारस्वरूप प्रशंसा पत्र, पुष्पहार साथै नगद रु० ३ लाख रुपियाँ प्रदान गरिएको थियो। यसका साथै वरिष्ठ लेखक एवं समालोचक प्रा. कृष्ण गौतमलाई `पद्मश्री साहित्य पुरस्कार’, त्रिभुवन विश्वविद्यालयका पूर्व उप-कुलपति तथा वरिष्ठ राजनयिक डा. केदारभक्त माथेमालाई `पद्मश्री गौरव पुरस्कार’ प्रदान गरिएको थियो।
विक्रम संवत् २०६२ मा चितवन राष्ट्रिय निकुञ्ज परिसरमा स्वर्गीय खेमलाल लामिछाने तथा माता हरिकला लामिछानेको स्मृति एवं सम्मानमा स्थापित समाज कल्याण प्रतिष्ठानले साहित्य, संस्कृति, समाजसेवाको क्षेत्रमा अथक काम गर्ने श्रष्टा एवं साहित्य-संस्कृतिकर्मीहरूलाई पुरस्कृत गर्न शुरू गरेको थियो। प्रतिष्ठानको तर्फबाट विसं २०६३ देखि नेपाली भाषाका लब्धप्रतिष्ठ साहित्यकर्मीहरू क्रमैले गणेश रसिक, भानुभक्त पोखरेल, कृष्णहरि बराल, ध्रुव सापकोटा, अमर न्यौपाने, रविन्द्र समीर, खगेन्द्र सङ्ग्रौला, शारदा शर्मा, मनु व्राजाकी, उपेन्द्र सुब्बा, मोहन मैनाली, नीलम कार्की निहारिका, नवराज पराजुली, नयनराज पाण्डे, रमेश सायन, केशव दाहाल, केशवराज ज्ञवाली, डा देवी प्रसाद सुवेदी अनि यस वर्ष प्रा. कृष्ण गौतमले उपन्यास `अद्वैत’का लागि `पद्मश्री साहित्य पुरस्कार’ प्राप्त गरेका छन् भने विसं २०६७ देखि राष्ट्रकवि माधव प्रसाद घिमिरे, अक्षरशिरोमणि मदनमणि दीक्षित, शताब्दीपुरुष सत्यमोहन जोशी, वाङ्मयपुरुष डा ध्रुवचन्द्र गौतम कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य, वैरागी काइँला, नरेन्द्रराज शर्मा, रोचक घिमिरे, डा तारानाथ शर्मा, महेशराज पन्त, गायक भक्तराज आचार्य, माया ठकुरी, दुर्गा बराल अनि यस वर्ष पवन चामलिङले `पद्मश्री साधना सम्मान’ प्राप्त गरेका छन्।
आफ्नो आरम्भिक वक्तव्यमा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सिक्किमका पूर्व मुख्यमन्त्री एवं साहित्यसाधक, संस्कृतिकर्मी, साहित्यिक श्रष्टा एवं चिन्तक पवन चामलिङलाई उनको पाँच दशक लामो सेवाको सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरिएको जनाए। आफ्नो वक्तव्यको क्रममा चामलिङले उक्त सम्मानले आफूलाई गौरवान्वित तुल्याएको बताउँदै पुरस्कार प्रदाता प्रतिष्ठानप्रति कृतज्ञता जनाए। विश्वभरिका मानिसहरूले ग्रीसको एथेन्सलाई बौद्धिक तीर्थस्थान मानेसरह भारतलगायत विश्वभरिका नेपालीभाषीहरूले नेपाल, विशेषगरी काठमाण्डौंलाई साहित्य, कला, संस्कृतिको तीर्थस्थान मान्ने गरेको उनले जनाए। आफूले सारा जीवन सिक्किमेली जनता, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सेवामा समर्पित गरेको बताउदैँ आफ्नो समयलाई सही ठाउँमा खर्च गरेको महसुस गरिरहेको जनाए। `म मेरो राज्य सिक्किम अनि मेरो देश भारतलाई हृदयको अन्तरतहबाटै अत्यधिक प्रेम र माया गर्दछु’, उनले भने। नेपाल देशले राजतन्त्रको समाप्तिपछि भर्खरै प्रजातान्त्रिक व्यवस्थाको अभ्यास गर्न शुरू गरिरहेको सन्दर्भमा उनले भने, `मैले दीर्घकालसम्म प्रजातान्त्रिक व्यवस्थाको अभ्यास गरेको छु। यसै अनुभवको आधारमा म भन्नसक्छु– नेपालले हासिल गरेको प्रजातन्त्रलाई सफल तुल्याउन अत्यन्तै धेर मेहनत गर्नुपर्नेछ। प्रजातन्त्रमा जनता देशका मालिक हुन्छन्। जनताले सही सरकार चुन्न सक्नुपर्छ। जनताले आफ्नो मालिकत्वको हक प्रयोग गर्दै सही नेतृत्व र सरकार चुन्नसकेनन् भने गलत नेतृत्वको हातमा देश र राज्यको बागडोर जान्छ। आज सबैतिर प्रजातन्त्र असफल भएर गइरहेको छ। जनता सचेत भएनन् भने देश र राज्य नै असफल भएर जान्छ।’ `संसारका ८५ वटा मुलुकमा छरिएर रहेका नेपालीहरूले भाषा, साहित्य, संस्कृतिको सुरक्षा गर्न नेपालले नेतृत्व गर्नुपर्छ भन्ने चाहेका छन्। नेपालले विश्वभरिका नेपालीहरूको भाषा, साहित्य, संस्कृतिको वैश्विक समीट् गर्नुपर्छ र यो दायित्व खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानजस्ता गैर-राजनीति, गैर-सरकारी संस्थाले ग्रहण गरोस् भन्ने म चाहन्छु’ चामलिङले आफ्नो सम्बोधनमा भने।