गान्तोक: मुख्यमन्त्री पीएस गोलेको वचनलाई पूरा गर्दै हिजो गान्तोक र रानीपुल बीच सात माइलमा बस दुर्घट्नमा परेर घाइते भएका अनि हाल मणिपाल सेन्ट्रल रेफरल अस्पतालमा उपचाराधीन सबै यात्रीलाई आर्थिक सहयोग प्रदान गरियो। मुख्यमन्त्रीको पक्षमा सड़क एवं पुल मन्त्री सञ्जित खरेल, जन स्वास्थ्य अभियान्तिकी मन्त्री भीम हाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका सचिव एसडी ढकाल अनि अन्यले अस्पतालमा पुगेर बिमारीहरूको स्वास्थ्यको जानकारी लिनुको साथै मुख्यमन्त्रीद्वारा प्रदान गरिएको रू. 50 हजार हस्तान्तरण गरे।
उल्लेखनीय छ, हिजो अपराह्न करिब ४ बजी गान्तोकदेखि सिलगढ़ीतर्फ गइरहेको निजी बस अप्सरा सात माइलमा ग्यास गोदाम नजिक दुर्घट्नाग्रस्त हुँदा बसमा सवार २९ जना यात्री घाइते भएका थिए जसमध्ये एकजनाको अवस्था गम्भीर बनेको छ भने अर्का एकजनालाई हिजो नै सिलगढ़ी रेफर गरिएको छ। बस दुर्घट्नालाई लिएर दुःख व्यक्त गर्दै हिजो नै मुख्यमन्त्री पीएस गोलेले सबै घाइतेलाई ₹. ५० हजार अनि राज्य बाहिर रेफर गरिएका बिमारीलाई ₹. २ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेका थिए। यसको साथै राज्यमा सबै बिमारीहरूको उपचारको खर्च सरकारले नै बेहोर्ने घोषणा पनि गरेका थिए। त्यसै अनुरुप आज मणिपाल अस्पतालमा उपचाराधीन घाइतेहरूलाई आर्थिक सहयोग प्रदान गरिएको हो।
हिजोको दुखद घट्ना परेर घाइते हुनेहरूलाई मुख्यमन्त्री पीएस गोलेले जुन आर्थिक सहयोगको घोषणा गरेको थियो त्यसलाई पूरा गर्न आज आफूहरू मुख्यमन्त्रीको पक्षामा अस्पताल आएको जेकब खालिङले पत्रकारहरूसितको कुराकानीमा बताए। यसको सथै बिमारीहरूको अवस्था र उपचार सुविधा बारे जानकारी लिनु पनि आफूहरूको यस भ्रमणको अर्को उद्देश्य रहेको उनले थप बताए। उनले बताएअनुसार मणिपाल अस्पतालमा बिमारीहरूको उपचारको खर्च सरकार बेहोर्नेछ।