काठमांडू: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गतिविधिप्रति सहकारीपीडितले आपत्ति जनाएका छन्। पार्टीका नेता कार्यकर्ताले मुद्दाको अनुसन्धान प्रभावित पार्न अनेक हर्कत देखाइरहेको गुनासो उनीहरुको छ।
रास्वपाका नेता तथ कार्यकर्ताहरुले घरघरमा पुगेर मुद्दालाई प्रभावित पार्न खोजेको गुनासो पीडितको छ। सूर्यदर्शन सहकारीका पीडितहरूले रास्वपाका नेता र कार्यकर्ताहरूले घरघर पुगेर पीडितहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको भन्दै आपत्ति जनाएका हुन्।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखराले एक विज्ञप्ति जारी गर्दै रास्वपाका नेता र कार्यकर्ताहरुले घरघरमा पुगेर पीडित बचतकर्तालाई भड्काउने काम गरेको आरोप लगाएको छ।
समितिले रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि उक्त पार्टीका नेता र कार्यकर्ताहरुले पोखराको शान्त वातावरण बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध नाराबाजी गरिरहेको आरोप समेत लगाएको छ। यस्ता हर्कत तत्काल बन्द गर्न र निष्पक्ष अनुसन्धानलाई प्रभाविन पार्ने गतिविधि रोक्न समितिले माग गरेको छ।