बिजनबारी: धेरै दिनदेखि दार्जीलिङ पुलबजार खण्डको विभिन्न ग्राम पञ्चायतहरूका उपभोक्ताहरूले सरकारी राशन सरकारी स्केल अनुसार नपाइरहेको जन गुनासोलाई लिएर आज गोरामुमो पुल बिजनबारी, चुङथुङ ऋषिहाट,रिम्बिक लोधोमा अनि लेबोङ भेल्ली समष्टिका प्रतिनिधिहरूले दार्जीलिङ पुलबजार खण्ड विकास अधिकारी सञ्जय घिसिङसित भेट गरी ज्ञापन पत्र चड़ाएका छन्।

यस विषयमा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटि महासचिव सन्दीप लिम्बुले बिजनबारी प्रेस गिल्ड कार्यालयमा सम्वाददाताहरुलाई बताएका छन्। सरकारले जारी गरिएको स्केल अनुसार राशन आगामी केही दिनसम्म नपाए अथवा यसबारे विभागीय जाँच नगरिए यस विषयलाई सांसद राजु विष्टको माध्यमबाट केन्द्रीय जाँच एजेन्सीसम्म ज्ञापन चढ़ाइने उनले बताए। उनले पहाडको तीनैवटा खण्डमा यो अभियान चलाइने थप बताए। यस अवसरमा उनी लगायत दार्जीलिङ ब्राञ्च कमिटि उपाध्यक्ष गायस सुब्बा,चुङथुङ रिसिहाट समष्टि सभापति जे० के० राईलगायत बिजनबारी खण्डका पाँचैवटा समष्टिका प्रतिनिधिहरु उपस्थित थिए।