नाम्ची: नाम्चीमा सप्ताहव्यापी वार्षिक महागुरु सोकबुम पूजा शुरु भयो। पूजाको उद्घाटनको दिन जाङ्डोकपल्री सिङ्खाम काङ्गुर ल्हाखाङ र मणिदुङ्खोरको अभिषेक) समारोह सम्पन्न भयो। उल्लेख्य छ, सप्ताहव्यापी कार्यक्रममा सहभागी बन्ने भूटानका बौद्ध धर्मगुरु सातौं क्याब्जे नामखाई निङ्पो रिन्पोछे हिजो नाम्चि आइपुगेका छन्। रिम्पोछेको विशेष उपस्थितिमा भएको समारोहमा जाङ्डोकपल्री सिङ्खाम, काङ्गुर ल्हाखाङ्, मणि खोर्लो र मणिगुरु खोर्लोबारे जानकारी दिइयो। कार्यक्रममा सिक्किम सरकारका धर्म विभागका मन्त्रीले रिम्पोछेलाई स्वागत गरेका थिए। साथै सरकारका शहरी विकास तथा खाद्य तथा नागरिक आपूर्ति विभागीय मन्त्री भोजराज राई र नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई पनि उपस्थित थिए। कार्यक्रममा विभिन्न स्थानबाट एका भक्तजनको ठूलो जमघट थियो। यो महागुरु सोकबुम पूजा २६ अक्टोबर २०२४ सम्म चल्नेछ।